आजदेखि करिब ५७ लाख बालबालिकालाई दादुराविरुद्धको खोप लगाइँदै


     एभरेस्ट आवाज    
     फागुन १३ गते २०८० मा प्रकाशित




काठमाडौँ । सरकारले आजदेखि दादुरा–रुवेलाको विरुद्धको खोप अभियान सञ्चालन गरेको छ । दादुरा रुवेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै आजदेखि अगामी चैत ७ गतेसम्म खोप अभियान जारी रहने छ ।

खोप भारतसँग सीमा जोडिएका दादुरा–रुवेलाको अति सङ्क्रमित २१ जिल्ला तथा काठमाडौँ उपत्यकाका तीन जिल्ला गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई खोप लगाइने छ ।

यस्तै ५१ जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई पनि खोप लगाइने छ । खोप बिहान १० बजदेखि दिउँसो ४ बजेसम्म बालबालिकालाई विद्यालय तथा खोप केन्द्रमा खोप लगाइने छ ।

स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसार नौ महिनादेखि पाँच वर्षमुनिका २१ लाख ३० हजार ६८३ बालबालिका र पाँच वर्षदेखि १५ वर्षमुनिका ३६ लाख १२ हजार ३१० बालबालिका गरी कूल ५७ लाख ४२ हजार ९९३ बालबालिकालाई खोप लगाइने छ ।

खोप अभियानका लागि देशभरि ४८ हजार ७९८ खोप केन्द्र रहेका छन । यस्तै ४९ हजार ९३७ जना स्वास्थ्यकर्मी र ५९ हजार ९०६ जना स्वयम्सेवक परिचालन गरिने छ । उनले खोप सुरक्षित र प्रभावकारी रहेकाले सबैले आआफ्नो बालबालिकालाई खोप लगाउन भन्दै उनले खोपले ८५ प्रतिशतलाई दादुरा रुवेला रोगसँग लड्ने क्षमता विकास गर्ने बताए।

उनले खोप लगाएपछि बच्चालाई ज्वरो आउने, रुघाखोकी आउनेजस्ता समस्या देखिए पनि आत्तिनुपर्ने अवस्था नरहेको बताए । उनले खोप लगाएपछि बच्चामा समस्या हुने भएको जिल्लास्तरमा आकस्मिक उपचारको टोली गठन गरिएको बताए ।

सात रोगविरुद्धको खोप पनि

खोप अभियानकै क्रममा नियमित छुटेका खोप पनि बालबालिकालाई लगाइने उहाको भनाइ रहेको छ । खोप अभियानमा सात वटा रोगविरुद्धको खोप पनि सँगै सञ्चालन हुनेछन् ।

खोप शाखाका प्रमुख डा गौतमले हेपाटाइटिस बी, धनुष्टाङ्कार, इन्फ्युन्जा, लहरेखोकी, भ्यागुते रोग, निमोनिया र पोलियोविरुद्धको खोप पनि सञ्चालन हुने बताए । ती खोप लगाउन छुटेका नौ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई लगाइने उनले बताए ।

सरकारले सन् २०१८ मा दादुरा रुवेलालाई नियन्त्रण गरे पनि निवारण गर्न सकेको छैन । सन् २०२६ सम्म दादुरा– रुवेला निवारण गर्ने लक्ष्यका यसपटक सरकारले खोप अभियान सञ्चालन गर्न थालेको हो ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।