पोखराको सर्वेश्वर मार्गका होलसेल व्यवसायी सामान ल्याउन चीन पुगे


     एभरेस्ट आवाज    
     फागुन १३ गते २०८० मा प्रकाशित




पोखरा, फागुन १३

पोखराको सर्वेश्वर मार्गका होलसेल व्यवसायी सामान ल्याउन चीन पुगेका छन् । काठमाडौंबाट सामान ल्याउँदा सामान जुध्ने र महंगोपनि परेपछि उनीहरु सिधै सामान ल्याउन चीन पुगेका हुन् । विदेशबाट सिधै सामान ल्याउने प्रयास स्वरुप सर्वेश्वर मार्गका एक दर्जन भन्दा बढीको टोली शनिबार राती ११ः५५ बजेको फ्लाईटबाट चीन प्रस्थान गरेका थिए ।

यसअघि पुसको मध्यतिर दुई दर्जन जनाको टोली चीन गएर सामान ल्याएको थियो । शनिबार फेरी अर्को टोली सामान लिन चीनतर्फ प्रस्थान गरेको सर्वेश्वर व्यवसायी समितिका अध्यक्ष तुल थापा (राजन)ले जानकारी दिए ।

सर्वेश्वर मार्गका होलसेल व्यवसायीले अबदेखि सिधै चीन, थाईल्याण्ड र भारतबाट सामान ल्याएर बेच्ने बताएका छन् । चिप्लेढुंगादेखि गैह्रापाटनसम्म फैलिएको सर्वेश्वर मार्गका होलसेल व्यवसायीले काठमाडौंबाट सामान ल्याउँदा सामान जुध्ने र महंगो पर्ने हुँदा प्रतिष्पर्धात्मक बजारमा गाह्रो हुने भएकाले सिधै चीन, थाईल्याण्ड र भारतबाट सामान ल्याएर बेच्न लागेको बताएका छन् । विगत १० वर्ष अघिदेखि नै त्यहाँका केहि व्यवसायीले विदेशबाट सिधै सामान ल्याएर बेच्ने गरेपनि अहिले अधिकांश होलसेल व्यवसायीले सिधै ती देशबाट सामान ल्याएर बेच्न लागेको अध्यक्ष थापाले बताए ।

तीन चरणमा गरेर चार÷पाँच दर्जन जनाको टोली चीन गएर सामान ल्याउने कार्यक्रम रहेको समितिका बरिष्ठ उपाध्यक्ष छविलाल गौतमले बताए । अहिले गएको टोलिमा फेन्सी, कस्मेटिक, जुत्ता, चप्पल तथा ब्रा पेन्टीका होलसेल व्यवसाय गर्ने व्यवसायीहरु रहेको उनले जानकारी दिए । उनका अनुसार यो टोलीले चीनको ग्वाञ्झाओ, फुजियान र ईयू पुगेर सामान खरिद गर्नेछ । तेश्रो टोली भने मार्चको पहिलो हप्ता सामान लिन चीन जाने उनले जानकारी दिए ।

चीन, थाईल्याण्ड र भारतका बाट सिधै सामान ल्याउँदा सस्तोमा सामान आउने र ग्राहकलाईपनि सस्तोमा सामान दिन सकिने भएकाले काठमाडौंको सट्टा सिधै ती देशबाट सामान ल्याएर बेच्न लागिएको अध्यक्ष थापाले बताए । ‘ती देशबाट सिधै ल्याउँदा सामानपनि गुणस्तरीय, फरक÷फरक आईटम, रोजेरपनि ल्याउन पाइने हुँदा सामानपनि राम्रो र सस्तोपनि हुन्छ ।’ उनले अबदेखि नेपालमा उत्पादन हुने सामानहरुपनि सिधै उद्योगबाटै खरिद गरेर ल्याईने जानकारी दिए । यसले गुणस्तर कायम गर्न र मूल्यपनि केहि कम पर्ने उनको भनाई छ ।

होलसेल तथा खुद्रा दुबै व्यापार हुने सर्वेश्वर मार्गमा स्याङ्जा, वालिङ, तनहुँ, लमजुङ, पर्वत, बागलुङ, म्याग्दीदेखि मनाङ र मुस्ताङ तथा पूर्वी रुकुम र पश्चिम रुकुम सम्मका खुद्रा व्यापारी ग्राहकका रुपमा आउने गरेको समितिका महासचिव विशाल अधिकारीले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।