समकालिन साथीहरूविच सम्मान, वनभोज तथा पुनर्मिलन कार्यक्रम


     एभरेस्ट आवाज    
     फागुन २० गते २०८० मा प्रकाशित




कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका-२ स्थित माछापुछ्रे माध्यमिक विद्यालयमा २०४७ सम्म अध्ययन गरेका समकालिन साथीहरूको समूहले सम्मान, वनभोज तथा पुनर्मिलन कार्यक्रम सम्पन्न गरेको छ ।

शनिबार माछापुछ्रे मावि एसएलसी ब्याची समूह-२०४७ को ब्यानरमा अन्नपूर्ण गाउँपालिकाको वडा नं। ३, लार्केस्थित पिक्निक स्पोर्टस् मा पुनर्मिलन, सम्मान एवं बनभोज कार्यक्रमको आयोजना गरेको हो ।

०४७ समूहका बिधार्थी एवं अन्नपूर्ण गाउँपालिका कास्कीका निवर्तमान अध्यक्ष युवराज कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तत्कालीन प्रधानाध्यापक रामचन्द्र सुवेदी, शिक्षकहरू कृष्ण बहादुर कुँवर, शिवकुमार सुवेदी, हरिकुमार श्रेष्ठ, तेजप्रसाद काफ़्ले, गमबहादुर कुँवर, कृष्ण बहादुर केसी, केदारनाथ अधिकारी र रामेश्वर सुवेदी सहित नौ जना शिक्षकहरूलाई सम्मान समेत गरेको थियो । कार्यक्रममा पूर्व शिक्षक रामेश्वर सुवेदी उपचरार्थ भारतमा रहेका केदारनाथ अधिकारी कार्यब्यस्तताका कारण उपस्थित हुन नसकेको आयोजकले जनाएको थियो ।

सम्मान ग्रहण पश्चात शिक्षकहरूले निकै खुशी व्यक्त गरेका थिए । सम्मान ग्रहण गरे पछि शुभकामना मन्तव्य राख्दै तत्कालीन प्रधानाध्यापक रामचन्द्र सुवेदीले ऐतिहासिक कार्यक्रमको आयोजना गरेकोमा सम्पूर्ण विद्यार्थीहरुलाई धन्यबाद एवं शुभकामना दिँदै विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरुले देशका हरेक जिल्लामा पुगेर आ(आफ्नो परिचय दिलाई काम गरेको देख्दा अत्यन्तै खुशी लाग्ने गरेको बताए ।

उनले अहिलेको अवस्थामा विद्यार्थीहरुले शिक्षकलाई त्यति आदर, मान सम्मान गरेको नदेख्दा धेरै दुःख लाग्ने गरेको तर यो समूहले यस कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुले आफ्ना गुरु वर्गलाई सम्मान गरेर आफ्ना गुरु प्रति उच्च सम्मान प्रकट गरेको देख्दा निकै खुशी लागेको बताए । उनले यस कार्यक्रमले अरु समूहका विद्यार्थीहरुलाई पनि धेरै कुरा सिक्ने अवसर प्रदान गरेको पनि बताए ।

उनले तत्कालीन बिधार्थीहरू युवराज कुँवर, बिष्णुहरि शर्मा, पार्वती भण्डारी आचार्य, नारायण बहादुर कुँवरलगाएत थुप्रै बिधार्थीको नाम लिदै उनीहरूको आनी बानीका बारेमा व्यक्त गरिरहदाँ ३३ बर्ष अघिको पुनर्स्मृति गराएको थियो ।

कार्यक्रम समापन पश्चात आ-आफ्नो प्रतिक्रिया दिदै तत्कालीन शिक्षकहरू कृष्ण बहादुर कुँवर, शिवकुमार सुवेदी, हरिकुमार श्रेष्ठ, तेजप्रसाद काफ़्ले, गमबहादुर कुँवर र कृष्ण बहादुर केसीले धन्यवाद एवं शुभकामना दिँदै विद्यार्थी र शिक्षकबिच नङ र मासुको जस्तो सम्बन्ध रहेको हुनाले शिक्षकलाई जहिले पनि उच्च सम्मान गर्नुपर्ने बताएका थिए र यस्ता कार्यक्रमहरु निरन्तर गर्दै गर्दा साथी साथी बिचको आत्मीयता अझ बढ़ने बताउँदै उज्वल भविष्यको कामना समेत गरेका थिए ।

कार्यक्रममा ०४७ सालको ब्याचमा अध्यनरत विद्यार्थीहरुले आफ्ना शिक्षकलाई सम्मान गर्दा निकै ग़र्व महसुस भएको बताएका थिए । उनीहरूले आफ्ना शिक्षकबाट पाएको राम्रो शिक्षाका कारणले नै आज हामीले राम्रो काम गर्न र असल संस्कार सिकेको प्रतिक्रिया दिएका थिए ।

माछापुछ्रे मावि २०४७ का समकालिन साथीको समूहले आयोजना गरेको वनभोज तथा पुनर्मिलन कार्यक्रम फागुनको महिना गरिएको भएपनि चिसो मौसम थियो । आआफ्नो पेशा र व्यवसायले निकै टाढा टाढा भए पनि समकालीन साथीहरू सबैजना यसरी भेला भएर कार्यक्रममा आफ्ना तितामिठा अनुभवहरू साटासाट गर्न पाएकोमा सबैले खुशि व्यक्त गरेका थिए ।

शिक्षकहरूलाइ सम्मान सँग सँगै कार्यक्रममलाई थप रोचक बनाउन लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर मोटिभेसनल स्पिकर चन्द्रकुमार केसीको सकारात्मक ऊर्जासहित सफल हुने तरिका सिकाउँदै व्यक्त गरेका प्रेरणा दायक भनाईले कार्यक्रमलाई थप उत्साहित बनाएको थियो ।

समूहका सदस्य गणेश प्रसाद अधिकारीले स्वागत, पार्वती भण्डारी आचार्यले धन्यवाद गरेको कार्यक्रमको संचालन समुहका संयोजक टंकराज अधिकारीले गरेका थिए । त्यो समूहबाट २०४७ सालमा कक्षा १० बाट एसएलसीमा सहभागिता जनाउने विद्यार्थीको संख्या ८८ रहेको थियो भने समूह अन्तर्गतका ६ जना स्वर्गे भएका छन् ।

कार्यक्रम समापन पश्चात ब्याची समूहका दिवंगत हुनु भएका ६ जना साथीहरू शान्ती गुरूङ, बिनोद लेकाली, हरिदत्त सुवेदी, रवीन्द्र बहादुर कुँवर, गोपाल अधिकारी र नारायण अधिकारीको स्मृतिमा एक मिनेट मौन धारणगरी श्रद्वा सुमन व्यक्त गरिएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।