पोखरा — वर्षौंदेखि नेपाली चलचित्र निर्माण गर्ने सपना बोकेका गण्डकी प्रदेश सभा सदस्य बेदबहादुर गुरुङले निर्माण गरिरहेको चलचित्र ‘बुकी फूल’को छायांकन ९० प्रतिशत सम्पन्न भएको छ। प्रतिकूल मौसमलगायत विभिन्न चुनौतीका बीच भदौदेखि सुरु गरिएको चलचित्रको छायांकन ९० प्रतिशत पूरा भएको उनले जानकारी दिए।
२०७० सालमा ‘युम्पो देउराली’ चलचित्र निर्माण गरेका गुरुङले २०७२ सालमा अर्को चलचित्र बनाउने तयारी गरेका थिए। तर, नयाँ संविधानको घोषणासँगै मुलुक नयाँ राजनीतिक परिवेशमा प्रवेश गरेपछि स्थानीय तहको पहिलो निर्वाचनमा सहभागी भएर उनी मादी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भए। त्यसपछि चलचित्र निर्माणको उनको योजना रोकिएको थियो।
गाउँपालिका अध्यक्षको कार्यकाल २०७९ सालमा सकिएलगत्तै उनी प्रदेश सभा सदस्यमा निर्वाचित भए। गाउँपालिका अध्यक्षको कार्यकालमा फुर्सद नमिलेको र प्रदेश सभा सदस्यको जिम्मेवारीमा रहेर केही समय व्यवस्थापन गर्दै सिर्जनात्मक काम गर्न सकिने लागेपछि चलचित्र निर्माणलाई अघि बढाएको उनले जानकारी दिए।जनप्रतिनिधिको महत्त्वपूर्ण जिम्मेवारीमा रहँदा अन्य काममा लाग्दा मतदाता तथा जनताको भावनामा असर पर्न सक्ने ठानेर चलचित्र निर्माण गर्ने इच्छालाई दबाएर राखेको उनले बताए। पदीय जिम्मेवारी र जनताको काममा असर नपर्ने गरी सिर्जनात्मक काम गर्दा फरक नपर्ने र साथीहरूको सल्लाह तथा सुझावअनुसार चलचित्र निर्माण गर्ने निर्णयमा पुगेको उनको भनाइ छ।
चालु वर्षको प्रदेशको बजेट अधिवेशन सकिएलगत्तै भदौ र असोज महिनामा ‘बुकी फूल’को छायांकन गर्ने निर्णय गरिएको थियो। पदीय जिम्मेवारीअन्तर्गतका प्रशासनिक कामबाहेक आफन्त, इष्टमित्र र साथीभाइका सुखदुःखका कार्यक्रममा सहभागी हुने समयसमेत थाती राखेर छायांकन सुरु गरेको उनले जानकारी दिए।
सबैको साथ र सहयोगका कारण प्रतिकूल मौसमलगायत अनेकौँ समस्या हुँदाहुँदै पनि चलचित्रको ९० प्रतिशत छायांकन सम्पन्न गर्न सफल भएको उनले बताए। छायांकन अवधिमा धेरै प्रियजनका सुखदुःखका क्षणमा सहभागी हुन नसकेकोमा उनले दुःखसमेत व्यक्त गरेका छन्।
वर्षौंदेखि नेपाली चलचित्र निर्माण गर्ने सपना बोकेका गुरुङले जनप्रतिनिधिको जिम्मेवारीसँगै आफ्नो सिर्जनात्मक यात्रालाई अघि बढाएका हुन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ ।…







