गण्डकीमा पाण्डे नेतृत्वको सरकार अल्पमतमा, नया सरकार बन्नलाईपनि सकस !


     एभरेस्ट आवाज    
     फागुन २३ गते २०८० मा प्रकाशित




पोखरा, फागुन २३

गण्डकी प्रदेश सरकार अल्पमतमा परेको छ । गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सरकार अल्पमतमा परेको हो ।

माओवादी केन्द्रले बुधबार पाण्डे नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता लिएको छ । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको थियो । निर्णयलगत्तै माओवादीले समर्थन फिर्ता लिएको पत्र प्रदेश सभा सचिवालयमा बुझाएको छ ।

नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक कुसुम बुढा मगरले पाण्डे नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र प्रदेश सभा सचिवालयमा बुझाएको बताए । ‘हामीले समर्थन फिर्ता गरेकोबारे प्रदेश सभा सचिवालयमा जानकारी गराइसकेका छौं’–उनले भनिन् ।

यसअघि मुख्यमन्त्री पाण्डेले मंगलबार माओवादी केन्द्रका दुई मन्त्रीलाई बर्खास्त गरेका थिए । केन्द्रमा गठबन्धन परिवर्तन भएसँगै उनले माओवादीबाट मन्त्री बनेका सुशीला सिंखडा र रेशमबहादुर जुग्जालीको जिम्मेवारी खोसेर आफूसँगै राखेका छन् । केन्द्रमा प्रधानमन्त्री प्रचण्डले गरेको शैलीमा नै आफूले गण्डकीमा माओवादी मन्त्रीलाई हटाएको मुख्यमन्त्री पाण्डेले बताउने गरेका छन् ।

माओवादीले समर्थन फिर्ता लिएसँगै अब गण्डकीका मुख्यमन्त्री पाण्डेले एक महिनाभित्र विश्वासको मत लिनुपर्नेछ । तर उनलाई यथास्थितिमा विश्वासको मत प्राप्त हुने सम्भावना छैन । किनकी ६० सदस्यीय गण्डकी प्रदेश सभामा सत्तारुढ कांग्रेससँग २७ जना मात्र प्रदेश सभा सदस्य छन् । जुन बहुमतका लागि अपुग हो । उनलाई राप्रपाका दुई प्रदेश सभा सदस्यले समर्थन गर्ने सम्भावना रहन्छ । त्यसो गर्दापनि बहुमत नपुग्ने भएकाले पाण्डेले विश्वासको मत पाउने सम्भावना देखिदैन ।

उसो त नया गठबन्धनलाईपनि सरकार बनाउन सकस हुनेछ । किनकी गण्डकीमा नेकपा एमाले र माओवादी र नेकपा एकीकृत समाजवादी मिल्दापनि सरकार बन्ने सम्भावना यथास्थितिमा देखिदैन । गण्डकी प्रदेश सभामा एमालेको २२, माओवादीको ८ (सभामुख)सहित र स्वतन्त्रबाट जितेर नेकपा एकीकृत समाजवादी प्रवेश गरेका दीपक मनाङे जोड्दा आवश्यक (३१) बहुमत त पुग्छ । तर गण्डकीमा नेकपा माओवादीका कृष्णचन्द्र धिताल सभामुख र नेकपा एमालेकी बिनाकुमारी थापा उपसभामुख छिन् । सभामुख धितालले सरकार निर्माणका लागि हस्ताक्षर गर्न र विश्वासको मत दिन पाउँदैनन् । त्यस्तो अवस्थामा सभामुख धितालले राजिनामा दिनुपर्ने हुन्छ । त्यसो भएमा उपसभामुख थापामा सभामुखको जिम्मेवारी आउँदा उनले सरकार निर्माणका लागि वा विश्वासको दिनबाट बञ्चित हुने हुँदा बहुमत पु¥याउन सकस हुनेछ । त्यस्तो अवस्थामा राप्रपा निर्णायक बन्ने देखिन्छ ।

राप्रपाले भने अहिलेसम्म मुख खोलिसकेको छैन । केन्द्रको गठबन्धनमा राप्रपा नभएकाले गण्डकीमापनि सहकार्य गर्न कठीन हुनेछ । त्यस्तो अवस्थामा बहुमतको नभई ठूलो दलको हैसियतमा कांग्रेसकै नेतृत्वमा सरकार बन्न सक्ने देखिन्छ ।

नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले नया सरकार गठनका लागि पहल शुरु गरिएको बताए । एमाले र नेकपा एसबीच नया सरकार गठनको पहलकदमी लिनेबारेमा छलफल भएको उनको भनाई छ । उनले सत्ता साझेदारीका लागि राप्रपासँगपनि कुरा भइरहेको बताए । हामीले अनौपचारिक रुपमा प्रस्ताव गरिसकेका छौं,उनले भने,‘उहाँहरुपनि सकारात्मक नै हुनुहुन्छ । तर केन्द्रको निर्देशनपनि कुर्नुपर्ने होला उहाँहरुलाई सायद ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।