पोखरा, फागुन २४
गण्डकी प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरिएको छ । गण्डकी प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेश सभाको अधिवेशन शुक्रबार राती १२ बजेदेखि लागु हुनेगरी अन्त्य गरेका हुन् । चालु अधिवेशन हठात रुपमा अन्त्य गरिनुलाई अर्थपूर्ण रुपमा लिइएको छ । प्रदेश प्रमुखको कार्यालयकी अधिकृत प्रमिला गौतमले प्रदेश प्रमुखले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम अधिवेशन अन्त्य गरेको जनाएकी छन् ।
यसअघि मन्त्री परिषदको आकस्मिक रुपमा बसेको बैठकले चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो । सो निर्णय अनुसार अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख समक्ष सिफारिश गरेअनुसार अधिवेशन अन्त्य भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
हठात रुपमा अधिवेशन अन्त्य हुनुमा संक्रमणकालीन राजनीतिलाई हेरिएको छ । केन्द्रमा गठबन्धन बदलिएसँगै गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेकपा माओवादी केन्द्रका २ मन्त्रीलाई बर्खास्त गरेका थिए । लगत्तै माओवादी केन्द्रले पाण्डे नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । योसँगै पाण्डे सरकार अल्पमतमा परेको छ । यहि कारण गण्डकी सरकारले चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हुनसक्ने विश्लेषण गरिएको छ ।
बिजनेश नभएर प्रदेश सभा अन्त्य गरिएको भने होईन । प्रदेश सभामा अहिले गाण्डकी प्रदेशमा सार्वजनिक सडक निर्माण, बिस्तार तथा मर्मत सम्भार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दर्ता भई छलफलको क्रममा छ । त्यस्तै, जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकपनि दर्ता अवस्थामा छ ।
नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलका नेता हरि चुमानले बिना कारण हठात रुपमा अधिवेशन अन्त्य गर्नुको औचित्य नहुने बताए । जनताको मुख थुन्न अधिवेशन अन्त्य गरिएको उनको टिप्पणी थियो । अधिवेशन अन्त्य गर्न जरुरी थिएन,उनले भने,‘यो सबैको साझा विषय थियो, सायद चालु राख्दा जनअभिमत व्यक्त हुने डरले जनताको मुख थुन्न त्यो आउने थलो नै बन्द गरौं भन्ने लागेर होला हठात रुपमा अधिवेशन अन्त्य गरिएको ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पर्यटन विभागले यही कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी…







