रुसी सेनामा कार्यरत नेपालीलाई स्वदेश फर्काउन विदेशमन्त्री लाभारोभलाई अनुरोध


     एभरेस्ट आवाज    
     फागुन २४ गते २०८० मा प्रकाशित




फागुन २४ काठमाण्डौं । नवनियुक्त उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा रहेका नेपाली नागरिकका समस्या, ज्यान गुमाएकाको शव स्वदेश ल्याउन, मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन र रुसी सेनामा कार्यरत नेपाली नागरिकलाई स्वदेश फर्काउन सहजीकरण गर्न आफ्ना रुसी समकक्षीसँग आग्रह गरेका छन् ।

उपप्रधानमन्त्री श्रेष्ठले रुसी महासङ्घका विदेशमन्त्री सर्गेइ लाभरोभसँग आज भएको टेलिफोन वार्तामा त्यस्तो आग्रह गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । कुराकानीका क्रममा रुसका विदेशमन्त्रीले उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीलाई परराष्ट्र मन्त्रालयको पदभार ग्रहण गरेकोमा बधाई दिँदै शुभकामना व्यक्त गर्नुका साथै व्यापार, पर्यटन, संस्कृतिलगायत विभिन्न क्षेत्रमा नेपालसँग सहकार्य गर्न इच्छुक रहेको बताएका थिए ।

दुवै परराष्ट्रमन्त्रीले रुसी सेनामा रहेका नेपाली नागरिकको समस्यालगायत नेपाल–रुस सम्बन्धका विविध पक्षमा पनि छलफल गरेको उक्त मन्त्रालयले आज साँझ जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

उपप्रधानमन्त्री श्रेष्ठले क्षतिपूर्तिको प्रक्रिया प्रारम्भ गरेकामा रुसी महासङ्घका विदेशमन्त्रीलाई धन्यवाद दिँदै त्यसलाई चाँडोभन्दा चाँडो टुङ्ग्याउन आग्रह गरेका थिए ।
विदेशमन्त्री लाभरोभले नेपाली पक्षको चासो सम्बोधन गर्न आफू नेतृत्वको मन्त्रालयले सहयोग गर्ने आश्वासन दिएका थिए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।