उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण


     एभरेस्ट आवाज    
     फागुन २७ गते २०८० मा प्रकाशित




फागुन २७ काठमाण्डौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले नेपाल प्रहरीका कर्मचारीले आफूलाई सुम्पिएको जिम्मेवारी कानुनी परिधिमा रहेर निर्वाह गर्नुपर्ने बताएका छन् ।

प्रहरी प्रधान कार्यालयको आज निरीक्षण गर्दै उनले प्रहरी कर्मचारीको वृत्तिविकासको सुनिश्चितता सङ्गठनले गर्नुपर्नेमा जोड दिए । गृहमन्त्री लामिछानेले भने, “कर्मचारीहरूको सरुवा, बढुवा तथा वृत्तिविकासका लागि आवश्यक पर्ने नीति र योजना बनाएर ल्याउनुहोस् । त्यसको कार्यान्वयनका लागि के कसरी गर्नुपर्ने हो सहजीकरण गर्न तयार छु ।” निर्धक्क भएर नीति र विधिको परिधिमा रहेर काम गर्नुपर्नेमा उनले जोड दिए । ठूलो जनशक्ति तल्लो तहका कर्मचारीहरूको भएको र उनीहरूको गुनासो सम्बोधन गर्न प्राथमिकतामा राखिएको उनले बताए ।

हरेक नागरिकले सुरक्षाको अनुभूति हुने गरी सेवा प्रवाह गर्नुपर्ने उल्लेख गर्दै गृहमन्त्री लामिछानेले भने, “कुनै पनि घटना तथा अपराधको छानबिन र अनुसन्धान भइरहँदा को प्रतिवादी हुने वा नहुने निर्धारण आदेशले होइन प्रमाणले गर्नुस् । अनुसन्धान प्रमाणमुखी हुनुपर्छ र कानुनको नजरमा सबै बराबर हुनुपर्छ ।” कानुनको नजरमा अनुहार, पद, प्रतिष्ठा हरेर होइन प्रमाणका आधारमा निष्पक्ष भएर अनुसन्धान तथा कारबाही गर्न आग्रह गर्दै त्यसबाट उब्जने चुनौतीको डटेर सामना गर्दा र सुरक्षा कवच भएर आफैँ उभिने उनले बताए ।

गृहमन्त्री लामिछानेले वैज्ञानिक प्रविधिको प्रयोगबाट हुने अपराधको अनुसन्धानमा प्रविधिको प्रयोग सँगसँगै लिएर वैज्ञानिक उपकरण र दक्ष जनशक्तिको विकास आवश्यक रहेको उल्लेख गरे । पीडित महिला तथा बालबालिका, वृद्धवृद्धा, असहाय, गरिब, फरक क्षमता भएका वर्गको न्यायका लागि अझ बढी सचेत भई विशेष प्राथमिकताका साथ सम्बोधन गर्न उनले निर्देशन दिए ।

मिटरब्याजपीडित, सहकारीपीडितहरूको समस्या ठूलो चुनौतीका रूपमा रहेको उल्लेख गर्दै गृहमन्त्रीले आर्थिक अपराध, ठगी, ‘साइबर क्राइम’ लागूऔषध कारोबारलगायत आपराधिक गतिविधि नियन्त्रण तथा अनुसन्धानमा चेतना अभिवृद्धिका साथै मन, वचन र कर्मले सेवाभावका साथ जनअपेक्षाअनुरूप काम गर्न निर्देशन दिए ।

गृहमन्त्री लामिछानेलाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरूलगायत वरिष्ठ प्रहरी अधिकृतहरूले स्वागत गरेका थिए । त्यस क्रममा उहाँले नेपाल प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गरे ।

साथै उनले नेपाल प्रहरी प्रधानकार्यालय तथा कार्यालयस्थित सङ्ग्रहालयको निरीक्षण गर्नाका साथै त्यससम्बन्धी गतिविधिबारे जानकारी लिए ।

प्रहरी महानिरीक्षक कुँवरले गृहमन्त्रीबाट प्राप्त निर्देशन कार्यान्वयनका लागि प्रहरी सङ्गठन पूर्ण प्रतिबद्ध रहेको बताए । उनले समयको गतिशीलता र परिवर्तनमुखी सामाजिक परिवेशसँगै सृजित चुनौतीलाई निस्तेज तुल्याउँदै, समाजको परिवर्तनको गति र दिशा अनि आमनागरिकको चाहनाबमोजिम प्रहरी सेवालाई समयसापेक्ष बनाउने प्रतिबद्धता व्यक्त गरे । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।