सुक्खा पहिरोले अवरुद्ध कालीगण्डकी करिडोररको बागलुङ–गुल्मी खण्ड सञ्चालन


     एभरेस्ट आवाज    
     फागुन २८ गते २०८० मा प्रकाशित




सुक्खा पहिरोका कारण शनिबार दिउँसोदेखि अवरुद्ध कालीगण्डकी करिडोरको बागलुङ–गुल्मी खण्ड सञ्चालनमा आएको छ । करिडोर कालोपत्रको काम गरिरहेको कालिका कन्ट्रक्सनले पहिरो पन्छाएपछि आजदेखि सडक सञ्चालन भएको हो ।

कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाका अनुसार बागलुङ र गुल्मी जिल्लाको सिमानामा पर्ने गुल्मीको कालीगण्डकी गाउँपालिका–६ बरलवाको भिरमा भीषण पहिरो खसेको थियो । सडक सञ्चालन भएसँगै लामो तथा छोटो दूरीका सवारी सञ्चालनमा आएका छन् ।

पहिरोले बागलुङ–गुल्मी खण्डअन्तर्गत मालढुङ्गा–अर्वेनी सडक पूर्णरुपमा अवरुद्ध थियो । यसअघि फागुन ११ गते राति खसेको सुक्खा पहिरोका कारण करिडोर एक साता बन्द भएको थियो । बागलुङको मालढुङ्गादेखि गुल्मीको अर्बेनीसम्म ५४ किलोमिटर खण्ड कालोपत्रका लागि स्तरोन्नतिको काम भइरहेको छ । शनिबारदेखि उक्त खण्डमा मालबाहक ट्रक अलपत्र परेका थिए । दुईतर्फी स्काभेटर प्रयोग गरेर चट्टान फोडेपछि सडक सञ्चालनमा आएको निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनका इञ्जिनीयर छकबहादुर गुरुङले बताए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।