माधव नेपालले १५ वर्ष पार्टी चलाएर नेतृत्व छाडेपछिपनि भाग खोज्दा पार्टी फुट्यो : ओली


     एभरेस्ट आवाज    
     चैत्र २३ गते २०८० मा प्रकाशित




पोखरा, चैत २३

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले दलहरुबीच गठबन्धन नभई समीकरण मात्र भएको बताएका छन् । नेकपा एमाले कास्की जिल्लाको नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई पदस्थापन गराउन शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने,‘एमाले अहिले नया समीकरणको सरकारमा छ । हामीले बनाएको यो गठबन्धन होईन, समीकरण मात्र हो ।’ गठबन्धनको साझा कार्यक्रम र नीति हुने भन्दै अहिले त्यस्तो नरहेको उनको भनाई छ । ‘अहिलेको समीकरणका दलहरुको आआफ्ना नीति, उद्देश्य छन् । आफ्ना नीति, उद्देश्य नछोडीकन बनाइएको समीकरण हो यो’–उनले भने । उनले देश ओरालो यात्रातर्फ लाग्नुका साथै एमालेलाई एक्ल्याउने प्रयास भएपछि त्यसलाई चिर्न नया समीकरण बनाउनुपरेको प्रष्ट्याए । गठबन्धन नीतिहीन, एमाले विरोधी, देश विरोधी थियो,उनले भने,‘त्यसैले अहिलेको अवस्थामा सरकारमा सँगै बसेर राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने सुशासन र विकासको दिशामा देशलाई लैजानुपर्ने अभिभारा हाम्रो काँधमा आयो ।’

पूर्व प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले अहिले बनेको समीकरण विदेशीले नभई आफूहरु मिलेर बनाएको बताए । हामीले बनाएको समीकरणलाई विदेशिले बनाईदियो भनेर प्रचार गरेका छन्,उनले भने,‘यति त हामी आफैपनि गर्न सक्छौं । यो हामीले बनाएको हो । यसको जस अपजस हामी नै लिन्छौं ।’ उनले एमालेलाई सिध्याउन घेराबन्दी गर्ने र देशमा अराजकता मच्चिएर ओरालो यात्रातिर जान लागेपछि नया समीकरण बनाउनुपरेकोसमेत बताए ।

अध्यक्ष ओलीले एमाले बिनाको नेपाल र केपी ओली बिनाको एमाले भन्नेप्रति दयामाया लागेर आउने बताए । कसैले एमाले बिनाको नेपाल भने, कठैबरा !,उनले भने,‘एमाले बिनाको नेपाल हुन्छ ? कसैले केपी ओली बिनाको एमाले भने । दया लागेर आउँछ ।’ उनले केपी ओली नभईदिएको भए यसो गर्थेँ, उसो गर्थेँ भन्नेहरुलाई त्यस्तो कल्पना नगर्न चेतावनी दिए । आफू अझै २० वर्ष बाँच्ने र त्यतिञ्जेल नेतृत्व गर्ने भन्दै उनले अगाडि भने,‘केपी ओली नभइदिए यसो गथ्र्यौं, उसो गथ्र्यौं भन्ने लाग्या होला । मैले पोहोर परार भन्ने गर्या थिएँ नि ! कपाल पलाउन लाग्यो, जुंगा कालाकाला हुन लागे भनेर । कपाल सबै झरेको थियो । अहिले पुरै पलाउन थालेको छ । जुंगा काला हुन लागेका छन् । अझै २० वर्ष मलाई हल्लाउन सक्दैन, कसैले आश नगरेपनि हुन्छ ।’ देशलाई अगाडि बढाएर, भोकमरी हटाएर, गरिवी हटाएर अनिमात्रै नेकपा एमालेले चौतारीमा बसेर सुस्केरा हाल्ने समय पाउने उनको भनाई छ ।

एमाले अध्यक्ष ओलीले आफूले अध्यक्ष छाडेपछि पार्टीमा भाग नखोज्ने बताए । पार्टीमा अध्यक्ष भईञ्जेल आफूखुशी पार्टी चलाउन पाउनुपर्ने भन्दै त्यसपछि भने हस्तक्षेप गर्न नहुने बताए । तर माधव नेपालले १५ वर्षसम्म पार्टी चलाएर त्यसपछिपनि भाग खोजेको आरोप लगाए । कसैलाई पदमा पुगेपछि घमण्ड पलाउँदो रहेछ,उनले भने, ‘माधव नेपालले पार्टीको १५ वर्ष नेतृत्व गर्नुभयो । बरिष्ठ नेता बन्नुभयो । अनि नेतृत्व छाडेपछि मैले केही पाइन भन्नुभयो । मलाई यो चाहियो, उ चाहियो भन्नुभयो ।’ बरिष्ठ नेता भएपछि अध्यक्षको छेउमा बसेर यो चाहियो र उ चाहियो नबनी अध्यक्षलाई उचित सल्लाह मात्र दिनुपर्ने उनको भनाई थियो ।

अध्यक्ष ओलीले नेपालपछि झलनाथ खनालकोसमेत आलोचना गरे । सत्ता समिकरणमा संगै रहेकाले धेरै बोल्न पनि भएको छैन भन्दै उनले भने,‘अर्का नेता झलनाथ खनालले १२ वर्ष पार्टीको नेतृत्व गर्नुभयो । मलाई पराजित गरेर अध्यक्ष बनेका खनालले पनि मैले पाइन भन्नुभयो । एउटा लेबलमा पुगेपछि यो र त्यो भनेर गुनासो गर्ने होइन ।’

नेपाल र खनालको आलोचना गरेका अध्यक्ष ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भने नरम देखिए । पहिले पार्टी एकता नै गरेर सरकार बनाएपनि पछि छाडेर हिंडेकोबारे अहिले भन्न मिल्दैन भन्दै उनले भने,‘त्यसैले फुट्यो भनेर फुटेको फुट्यै हुन्छ र जुट्यो भनेर जुटेको जुट्यै हुन्छ भन्ने हुँदैन । मित्र भयो भनेर सँधै मित्रै रहन्छ भन्ने र मतभेद भयो भनेर सँधै मतभेद नै रहन्छ भन्ने हुँदैन ।’

अध्यक्ष ओलीले सुदृढ लालकिल्ला भएको बताए । कास्की पहिलेदेखि नै लालकिल्ला हो,उनले भने,‘मिसन ८४ मापनि लालकिल्ला रहन्छ । सुदृढ लालकिल्ला ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।