डोल्पा आगलागी घटना : तीनै बालबालिकाको मृत्यु


     एभरेस्ट आवाज    
     वैशाख १ गते २०८१ मा प्रकाशित




वैशाख १ डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सुँ सामुदायिक वनमा आगलागीमा परेका तीनै बालबालिकाको मृत्यु भएको छ । गत बिहीबार आगलागी घटनामा परेका तीनै बालबालिकाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिए ।

आगलागीबाट गम्भिर घाइते दुई जनाको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको उनले बताए । उपचारको क्रममा १२ वर्षीय विवस बुढा र १३ वर्षीय समन्त बुढाको काठमाडौँमा आज निधन भएको प्रजिअ दाहालले बताए ।

आगलागीबाट घाइते १० वर्षीय सुलस बुढाको भने गत शुक्रबार जिल्ला अस्पताल डोल्पामा उपचारको क्रममा मृत्यु भएको हो । गाउँ नजिकैको वनमा गुच्ची च्याउ टिप्न गएका तीनै बालबालिका आगलागीमा परेर गम्भीर घाइते भएका थिए ।

एकै गाउँका तीन बालबालिकाको आगलागीमा परेर मृत्यु भएपछि सिङ्गो गाउँनै शोकमा डुबेको त्रिपुरासुन्दरी–४ का वडाध्यक्ष रञ्जित बुढाले बताए । त्रिपुरासुन्दरीले घाइते दुई बालबालिकालाई थप उपचारका लागि हेलिकप्टरमा काठमाडौँ पठाएको थियो ।

उनीहरुको उद्धार गर्ने क्रममा हेलिकप्टर भाडा मात्रै रु १६ लाख ५० हजार खर्च आएको कर्णाली प्रदेशसभा सदस्य वीरबहादुर शाहीले बताए । “खर्च बेहोर्नका लागि त्रिपुरासुन्दरी नगरपालिका र कर्णाली प्रदेश सरकारसँग समन्वय भइरहेको छ”, उनले भने । यसअघि डोल्पामै गत मङ्गलबार ठूलीभेरी नगरपालिका–४ स्थित मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा तीन सैनिकको ज्यान गएको थियो । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।