आज मातातीर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन


     एभरेस्ट आवाज    
     वैशाख २६ गते २०८१ मा प्रकाशित




आमाको मुख हेर्ने औंसीलाई मातातीर्थ औंसी भनिन्छ। यो प्रत्येक बर्षको बैशाख कृष्ण औंसीका दिन मनाईन्छ। जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी आज मातातीर्थ औँसी मनाइँदैछ । प्रत्येक वर्षको वैशाख कृष्ण औँसीका दिन आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्वलाईं आमाको मुख हेर्ने दिन वा आमा खुवाउने औंसी पनि भनिन्छ ।

यस दिन बिहान सबेरै स्नान गरी आमालाई उपहार प्रदान गर्ने, विभिन्न मिष्ठान्न खुवाइ आमाको मुख हेर्ने र आशिर्वाद लिने प्रचलन रहीआएको छ । आमा नभएकाहरुले भने श्राद्ध गर्दै आमाको सम्झना गर्ने गर्छन् ।

हुन त आमालाई सम्मान गर्न कुनै विशेष दिन कुर्नु पर्दैन। तर, हाम्रो सांस्कृतिक परम्पराअनुसार आज नै आमाको मुख हेर्ने र सम्मान व्यक्त गर्ने विशेष दिन हो । ‘शास्त्रमा जन्म दिने आमा र जन्मभूमिलाई स्वर्गभन्दा पनि ठूला हुन् भनिएको छ, त्यसैले आमाप्रति श्रद्धाभाव व्यक्त गरिने यो पर्व आफैंमा निकै महत्वपूर्ण छ ।

यसैबीच दिवंगत आमाको सम्झनामा श्राद्ध तथा दान गर्न वैशाख कृष्ण औंसीका दिन काठमाडौंको मातातीर्थमा मेला लागेको छ ।मेलामा सहभागी भई त्यहाँस्थित कुण्डमा दर्शन गरेमा आमा दिवंगत हुने छोराछोरीले आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने जनविश्वास रही आएको छ ।आमा नहुने नरनारी मातातीर्थमा गई स्नान तथा हरिहर (विष्णु र शिव) को पूजा गर्छन् । आमा नभएकाहरुले सके प्रत्येक वर्ष, नसके एक पटक मातातीर्थ औंसीमा श्राद्ध गर्नुपर्ने मान्यतासमेत छ ।

आमाहरूलाई सम्झना

मातृदेवो भव: अर्थात आमाहरू देवता हुन् । आज आमाबाट टाढा रहेका सन्तानहरू आमालाई उपहार लिएर भेट्न पुग्छन् । विवाह गरेर पतिका घर गएका चेलीबेटीहरू मीठा परिकारहरूसहित आमा घर अर्थात् माइती पुग्छन् ।

घरबाट टाढा रहेकाहरु आमाको मुख हेर्नका लागि घर पुग्ने तथा घर जान नपाएकाहरुले टेलिफोन गरेरै भए पनि आमालाई सम्झने गर्दछन् । हिजोआज सामाजिक सन्जालमा आमाको तस्वीर राखेर आमाप्रतिका भावना अनि सम्झनाहरू व्यक्त गर्ने चलन बढेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।