फेवातालको श्रोतबाटै जलकुम्भी हटाउन दुई हप्ते अभियान शुरु


     एभरेस्ट आवाज    
     वैशाख ३० गते २०८१ मा प्रकाशित




पोखरा, बैशाख ३०

फेवातालको जलकुम्भी हटाउन १५ दिन दैनिक सरसफाई गरिने भएको छ । जलकुम्भीका कारण पोखराको फेवाताल कुरुप बनेपछि फेवातालको मुहानबाटै जलकुम्भी हटाउने अभियान शुरु गरिएको हो । पोखरा महानगरपालिकाको सहयोगमा ‘एक जलारी घर एक रोजगारी’ कार्यक्रम अन्तर्गत यो अभियान चलाइएको जनाइएको छ । जहाँ हरेक दिन स्थानिय ४० जना जलारीले जलकुम्भी हटाउनेछन् । त्यसबाहेक अन्य ईच्छुकलेपनि स्वयम्सेवी रुपमा सहभागिता जनाउन सक्ने जनाइएको छ ।

जलकुम्भीले भरिएपछि मात्र सरोकारवालाको आँखा खुल्ने गरेकाले यस वर्ष बेलैमा मुहान क्षेत्र सरसफाई गर्ने अभियान थालिएको वातावरण संरक्षणका लागि महाअभियान कास्कीका संयोजक तथा नागरिक अभियान्ता रामबहादुर पौडेलले बताए । ‘जलकुम्भीले ढाकिएपछि सरसफाई गर्दा फेवाताल कुरुप भइसकेको हुन्छ । त्यस्तो अवस्था देख्न नपरोस् भनेर बेलैमा अभियान थालिएको हो’–उनले भने । उनका अनुसार अभियान दुई साता निरन्तर चल्नेछ ।

अभियानमा नेपाली सेना, सशस्त्र प्रहरी, सफाइ अभियान्ता र स्थानीयसहित सात सयभन्दा बढी आईतबार अभियानमा सहभागि भए । अभियानको पहिलो दिन आईतबार १५ टिप्पर जलकुम्भी झार हटाइएको छ ।

अभियानको आईतबार सशस्त्र प्रहरी गण मालेपाटन (कालिका गण)का गणपती प्रहरी उपरीक्षक अरुण शर्माले शुभारम्भ गरे । अभियानको शभारम्भ गर्दै उनले अभियान सफल बनाउनु पोखरेली सबैको दायित्व भएको बताए । उनले भने,‘ताल तलैयालगायत प्राकृतिक स्रोत, सम्पदा र सम्पत्तिको संरक्षण गर्नु सबैको साझा दायित्व हो ।’

अभियान पहिलो दिन डेढ घण्टा चलेको थियो । पहिलो दिनको अभियानको समापन गर्दै पोखरा महानगरपालिका वडा नम्बर–६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले जलकुम्भी झार हटाउने अभियानमा सबैले हातेमालो गर्नुपर्ने बताए । उनले भने,‘सबैको हातेमालोले मात्र संरक्षण र विकासका अभियान पूरा हुन्छ ।’

जलकुम्भी झार फेवातालको श्रोतबाटै हटाउने अभियानमा आईतबार पोखरास्थित भगवती दल फूलबारीबाट श्रीकृष्ण दल सुनसरी सरुवा भएका सेना र त्यहाँबाट भगवती दल फूलबारी आएका करिव ३०० सेना सहभागि भए । त्यस्तै, सशस्त्र प्रहरी गण मालेपाटनबाट २०० जना र नागरिक अभियन्ताहरुसमेत गरेर करीब ७०० जना सहभागि भएको अभियन्ता पौडेलले बताए ।

अभियान अब दुई हप्ता निरन्तर चल्ने जनाइएको छ । पहिलो डेढ घण्टामात्र चलेपनि अबदेखि दैनिक विहान ८ बजेदेखि अपराह्न ३ बजेसम्म चल्नेछ । जहाँ सशस्त्र प्रहरी, स्थानिय जलारी समुदाय तथा ईच्छुक अन्य सर्वसाधारण सहभागि हुने पौडेलको भनाई छ ।

फेवाताल जस्तै बेगनास ताल, रुपाताललगायतका कास्कीका सबै तालहरुमा पनि यो अभियान चलाईने अभियन्ता पौडेलले बताए । उनले भने, ‘फेवातालमा सुरु गरेका छौं । यो अभियान बेगनाससहित अन्य तालहरुमा पनि निरन्तर चलाउँछौं ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।