वाङ्मयका अग्ला साधक छोटा


     एभरेस्ट आवाज    
     जेठ ३ गते २०८१ मा प्रकाशित




प्रेम छोटाले जीवनमा एउटै मात्र नाटक खेले । तर त्यही नाटकले दिएको नामले भने उनलाई कहिल्यै छोडेन । उनको खास नाम प्रेमप्रसाद श्रेष्ठ हो । नेपाली वाङ्मय वृत्तमा भने प्रेम छोटाले चिनिन्छ ।

विसं २०१४ तिरको कुरा हो । बागलुङका कलाप्रेमी युवाहरुले नाटक ‘मनोमानी’ मञ्चन गरे । जुन नाटकमा एकै नामका दुई पात्र थिए । एउटा हवल्दारको भूमिका निभाउने प्रेमप्रसाद श्रेष्ठ अर्का बाल पात्र प्रेमप्रसाद श्रेष्ठ ।

हवल्दार बनेका प्रेमप्रसाद अग्लो, बाल कलाकार प्रेमप्रसाद यसै पनि होचो कदको थिए । दुवै कलाकारलाई चरित्र निर्वाह र निर्देशनमा सजिलो होस् भनेर नाटकका निर्देशक ओमकारप्रसाद गौचनले एक जनालाई प्रेम बडा र अर्कोलाई प्रेम छोटा नाम दिए । नाटक ‘मनोमानी’मा हवल्दार बनेका प्रेम बडा दिवङ्गत भइसे । बाल चरित्र निभाका प्रेम छोटा अहिले पनि साहित्य साधना र संस्कृतिको अन्वेषणमा सक्रिय छन ।

“विद्यामन्दिर माविमा नाटक ‘मनोमानी’ मञ्चन भएको थियो, म बाल कलाकारको भूमिकामा थिएँ, प्रेमप्रसाद नाम गरेको दुई जना भएपछि निर्देशक ओमकारप्रसाद गौचनले मलाई प्रेम छोटा र अर्को प्रेमप्रसादलाई प्रेम बडा नाम दिनुभएको थियो”, उनले विगत सम्झिए “त्यही नाम नै मेरो साहित्यिक नामका रुपमा स्थापित भयो, सबैले प्रेम छोटा भनेर चिन्छन्, आखिर छोटा नै मेरा लागि प्रिय नाम भयो ।” आफ्नो नामबारे दिग्गज साहित्यकारदेखि जनसाधारणसम्मले बेलाबेला चासो राख्ने गरेको उनले सुनाए ।

बाह्र वर्षको उमरेमा नाटक खेलेका उनले विसं २०१६ मा पहिलोपटक प्रेम छोटाकै नाममा ‘असम्भव के ? ’ कविता लेखेका थियो । त्यही कविताबाट उनको वाङ्मययात्रा आरम्भ भएको हो । “विसं २०३० सम्म कथा, कविता र आत्मपरक निबन्ध लेखेँ”, ८० वर्षीय छोटाले भने, “त्यसपछि संस्कृतिको खोज–अनुसन्धानमा लागेँ ।” उनको पहिलो खोजमूलक रचना ‘बागलुङको प्राचीनतम् लोकसंस्कृति हनुमान नाच’ विसं २०३५ मा प्रकाशित भयो । अमेरिकी दूतावासबाट निस्कने ‘स्वतन्त्र विश्व’ नामक पत्रिकामा प्रकाशित उक्त आलेख नै छोटाको शोध यात्राको कोशेढुङ्गा बन्यो ।

“त्यसबेलाको चर्चित पत्रिका थियो, रङ्गीन आउँथ्यो, त्यो पनि मनिलामा छापिएर”, उनले भने, “जसबापत पारिश्रमिक रु पाँच सय पाएँ, म झन् प्रेरित भएँ ।” जीवनमा पहिलोपटक पाएको लेखश्वबाट उनी त्यसबेला प्रकाशित हुने रुपरेखा साहित्यिक पत्रिकाको आजीवन सदस्य बनेका थिए । तीन सय वर्ष पुरानो ऐतिहासिक हनुमान नाचबारे शोधपछि उनलाई लोक संस्कृतिको अनुसन्धानमा लाग्ने प्रेरणा र ऊर्जा मिल्यो । पूर्वाद्धमा साहित्यका अनेक विधामा कलम चलाएका छोटाले पछि आएर संस्कृतिको अन्वेषणतिर लागे । संस्कृतिको खोज–अनुसन्धानमा उनले पाँच दशक बिताइसकेका छन ।

‘बागलुङको सांस्कृतिक आकाशमा नाटकीय इन्द्रेनी–२०७५’ उनको ३२औँ कृति हो । उनका लोक संस्कृतिमा मात्रै आधारित कृति १२ वटा छन् । “कविता, कथा, सम्पादन हुँदै संस्कृतितिर मेरो झुकाव बढ्दै गयो, लामो समय मैले यसैमा व्यतित गरेँ”, छोटाले भने । उनको पहिलो कृतिका रुपमा विसं २०४२ मा कथासङ्ग्रह ‘प्रकारान्त’ प्रकाशित भएको थियो । त्योसँगै उनका ३२ कृति प्रकाशित भए भने २५ कृति प्रकाशोन्मुख छन् ।

‘प्रेमका केही कविता’, ‘अणु अणुको थुप्रोः जीवन र प्रेम’लगायत कृतिमा उनी ससक्त कविका रुपमा प्रकटित भएका छन । उनको पहिलो अनुसन्धानमूलक कृतिका रुपमा विसं २०४४ मा साझा प्रकाशनबाट ‘धवलागिरिका लोक संस्कृतिहरु’ प्रकाशित भएको थियो । हनुमान नाच, भोटेसेलो, जोगी, लाखे, नाग नाचलगायतका लोक संस्कृतिलाई उहाँले कृतिमा समेट्नुभयो । संस्कृतिको ऐतिहासिक तथ्य, परम्परा, मान्यता, विकास र उत्थानका सन्दर्भ उनको खोजका विषय हुन् । “लोकसंस्कृति उजागर र जगेर्ना हुनुपर्छ भन्ने सोच आयो अनि खोजमा तल्लीन भएँ”, छोटा भन्छन, “मेरो शोधको स्रोत भनेको यहीँको समाज हो ।”

‘भानुभक्तभन्दा पुराना कवि वीरशाली पन्त’, ‘धवलागिरि सांस्कृतिक सम्पदा’लगायत उहाँका अनुसन्धानमूलक कृति प्रकाशित छन् । नेपाल प्रज्ञा–प्रतिष्ठान (तत्कालीन नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान) बाट विसं २०५३ मा धवलागिरिका कथा प्रकाशित भयो । ‘धवलागिरिका कवि र कविता–२०५५’, ‘भानुभक्तभन्दा पुराना कवि वीरशाली पन्त–२०६२’ जस्ता शोधमा आधारित कृतिहरु प्रकाशित भए । विसं २०६६ मा प्रकाशित ‘बागलुङका ऐतिहासिक घटना’ विसं २०७० मा प्रकाशित ‘धवलागिरिको छ दशकीय पत्रकारिता’ पनि उनको खोजमूलक कृति हो ।

एउटै ऐतिहासिक सन्दर्भ खोज्न र प्रमाणित गर्न महिनौँ लागेको उनको अनुभव छ । सामाजिक घटना, पात्र, पाका व्यक्ति र अन्यत्रको प्रचलनबाट पनि अनुसन्धानमा सिकाइ मिल्ने गरेको छोटाले बताए । “संस्कृति, भाषा, साहित्य, पत्रकारितालगायत समाजका विविध पक्षको ऐतिहासिक मूल्य खोज्नु मेरो शोधको उद्देश्य हो”, उनले भने, ‘धवलागिरिको छ दशकीय पत्रकारिता’मा उनले धवलागिरि क्षेत्रबाट विसं २०७० सम्म प्रकाशित अखबारको पहिलो अङ्क सङ्ग्रहित गरेका छ ।

विसं २०७५ मा प्रकाशित ‘बागलुङको सांस्कृतिक आकाशमा नाटकीय इन्द्रनी’ उनको पछिल्लो कृति हो । बागलुङको नाटक परम्परासँगै उक्त कृतिमा चैते दसैँ, घण्टाकर्ण पर्वलगायत केही सांस्कृतिक महत्वका पर्व र स्थलबारे उक्त कृति केन्द्रित छ । इतिहासको दस्तावेज राख्न र नयाँ पुस्तालाई संस्कृतिबारे सुसूचित गर्न उनका अनुसन्धानमूलक कृतिले सघाउँछन् । उनका कृतिबाट साङ्गोपाङ्गो रुपमा धवलागिरि क्षेत्रको कला, संस्कृति र वाङ्मय बुझ्न सकिन्छ ।

“लोक संस्कृतिले कुनै विचारधारा र वाद प्रभावित नहुँने हुँदा मेरो रोजाइमा प¥यो”, उनी भन्छन, “साहित्य रचनामा विचारधारा प्रकट हुने खतरा हुन्छ ।” उनले संस्कृतिलाई व्यापक रुपमा हेर्नुपर्ने धारणा राख्छन । लोकसंस्कृतिलाई कुनैपनि देशको आत्मा र स्पन्दनका रुपमा बुझ्नुपर्ने उनको भनाइ छ । “लोकसंस्कृति र परम्परालाई बाहिर झिकिदिने हो भने समाज निर्जीव र मूर्छित बन्छ”, छोटाले भने ।

अनुसन्धानमूलक कृतिबाहेक छोटाका एक दर्जन जति मौलिक कृति छन् । कैयन पुस्तक उनको सम्पादनमा प्रकाशित भएका छन् । विसं २००२ मा बागलुङ नगरपालिका–३ किनाराटोलमा जन्मिएका छोटा सानै उमेरदेखि वाङ्मय सेवामा समर्पित छन । एघार वर्षको उमेरमै साथीहरुसँग मिलेर उनले बागलुङ बजारमा सरस्वती पुस्तकालयको स्थापना गर्नुभएको थियो । विसं २०३४ मा उनले स्थापना गरेका ‘रत्न–श्रेष्ठ पुरस्कार गुठी’ राजधानी बाहिरको सबैभन्दा पुरानो पुरस्कार संस्था मानिन्छ ।

विसं २०२४ देखि २०४१ सम्म विद्यामन्दिर माध्यमिक विद्यालयको लेखापालका रुपमा सेवा गरेका छोटा त्यसयता भने पूर्णकालीन साहित्य सेवामा हुनुहुन्छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व प्रज्ञासभा सदस्यसमेत रहेका छोटा डा. डिल्लीरमण कल्याणी रेग्मी स्मृति पुस्तकालय विकास समिति काठमाडौँ र धवलागिरि वाङ्मय प्रतिष्ठान काठमाडौँको अध्यक्षसमेत भइसकेका छन । विभिन्न साहित्यिक तथा प्राज्ञिक सङ्घसंस्थामा क्रियाशील छोटाले ६० भन्दा बढी पदक, सम्मान र पुरस्कार पाइसकेका छन ।

विसं २०५३ मा राष्ट्रिय प्रतिभा पुरस्कार, २०५६ मा गोपाल पाँडे असीम पुरस्कार, २०६८ मा शिरोमणि पुरस्कार, २०६९ मा त्रिमूर्ति पुरस्कारलगायत दर्जनौँ पुरस्कार प्राप्त गरेका छन । लोककवि अलिमियाँ वाङ्मय सम्मान, भूपि स्मृति सम्मान, राष्ट्रिय नागरिक स्वर्ण सम्मान तथा नागरिक अभिनन्दन, भानुभक्त स्वर्ण सम्मान लगायतबाट उनी सम्मानित छन ।

छोटा संस्थापक÷संरक्षक रहेका रत्न–श्रेष्ठ पुरस्कार गुठीले हरेक दुई वर्षमा राष्ट्रिय, क्षेत्रीय र आञ्चलिक स्तरमा पुरस्कार तथा सम्मान प्रदान गर्दै आएको छ । पढाइमा स्नातक छोटासँग केही वर्ष शिक्षक र कर्मचारी भएर काम गरेको अनुभव भए पनि अधिकांश जीवनकाल साहित्य, कला र संस्कृतिको सेवामा बितेको छ ।

उमेरको उकालोसँगै छोटाको लेखनको गति केही घटेको होला तर साधना र समर्पण भने उस्तै छ । “३२ वटा कृति प्रकाशित भए, अझै २५ कृति प्रकाशोन्मुख अवस्थामा छन्”, उनले भने, “हेरौँ उमेर, स्वास्थ्यले कत्तिको साथ दिन्छ ।” दिवङ्गत दीपबहादुर र रत्नकुमारी श्रेष्ठको कोखबाट जन्मिएका छोटा अहिले बागलुङ नगरपालिका–३ किनारा टोलमा परिवारसँग बस्दै आएका छन ।

उनको सिर्जनाकर्ममा अर्धाङ्गिनी इन्द्र श्रेष्ठ, छोराछोरी, बुहारीलगायत स्वजनको दरिलो साथ र स्नेह छ । साहित्य र संस्कृतिको उत्थानमा उनले पु¥याएको योगदानलाई समेटेर ‘प्रेम छोटाका ७० वसन्त’ र ‘प्रेम छोटाका बहुआयाम’ ग्रन्थ प्रकाशित छन् । आजीवन नेपाली भाषा, साहित्य र संस्कृतिको अन्वेषणमा दत्तचित्त छोटा नेपाली वाङ्मयका अग्ला व्यक्तित्व हुनुहुन्छ भन्दा कुनै अतियुक्ति हुँदैन । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।