पश्चिमाञ्चल माविमा व्यूटिसियन, हेयर ड्रेसिङ र फेसन डिजाईनिङ सम्बन्धि ‘सौन्दर्य तथा केश कला’ पढाई हुने


     एभरेस्ट आवाज    
     जेठ ८ गते २०८१ मा प्रकाशित




पोखरा, जेठ ८

पोखरा–४ गैह्रापाटनमा रहेको पश्चिमाञ्चल माविमा व्यूटिसियन, हेयर ड्रेसिङ र फेसन डिजाईनिङको पढाई हुने भएको छ । पश्चिमाञ्चल माविले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरेर यस वर्षदेखि सौन्दर्य तथा केश कला विषय अन्तर्गत व्यूटिसियन, हेयर ड्रेसिङ र फेसन डिजाईनिङको पढाई शुरु गर्न लागेको जानकारी दिएको हो ।

विद्यार्थीलाई व्यवसायीक, सीपमूलक र व्यवहारिक शिक्षा दिने हेतुले यस वर्षदेखि व्यवस्थापन संकालयको कक्षा ११ र १२ मा एक÷एक सय पूर्णाङ्कको यी विषयहरु ऐच्छिक विषयका रुपमा थप गरिएको विद्यालयका प्रिन्सिपल सरोज कोइरालाले बताए । हरेक कक्षामा ५० पूर्णाङ्कको सैद्धान्तिक र ५० पूर्णाङ्कको प्रयोगात्मक कक्षा हुने उनको भनाई छ । यसका लागि विद्यार्थीले अहिले तिरिरहेको शुल्कमा थप २४ हजार प्रयोगात्मक शुल्क तिर्नुपर्ने उनले जानकारी दिए ।

विद्यालयले व्यूटिसियन, हेयर ड्रेसिङ र फेसन डिजाईनिङको पढाईका लागि दक्षा जनशक्ति र सुविधा सम्पन्न प्रयोगशाला बनाएको जनाएको छ ।

सौन्दर्य तथा केश कला विषय नीजि (संस्थागत) विद्यालयहरुमा पोखरामा पहिलो भएको विद्यालयको दाबी छ । यस विषयको पढाईपश्चात विद्यार्थीहरु स्वरोजगार हुनुका साथै रोजगारीको थप अवसर सिर्जना गर्नपनि सघाउने पश्चिमाञ्चल फाउण्डेसनका अध्यक्ष प्रा.डा.रामनाथ ओझाले बताए । उनले भने,‘सीप सिकेर यसले स्वरोजगार बनाउँछ । जसका कारण रोजगारीको सिर्जनापनि गर्छ ।’

यसैबीच, विद्यालयले व्यूटिसियन, हेयर ड्रेसिङ र फेसन डिजाईनिङको पढाई, यसको महत्व र पठनपाठनको विषयबारे पूर्व जानकारी गराउने उद्देश्यले एक हप्ते सेल्फ मेकअप (स्किन केयर) सम्बन्धी तालिम सञ्चालन गर्ने जनाएको छ । आइरिस हेयर एण्ड ब्युटी केयर प्रा. लि. सँगको सहकार्यमा हुने तालिम निःशुल्क हुने विद्यालयकी सहायक प्रिन्सिपल मीनादेवी श्रेष्ठले जानकारी दिईन् । तालिममा ५० जना सहभागि हुने उनले बताईन् ।
वि.सं.२०४९ मा स्थापना भएको पश्चिमाञ्चल माविमा नर्सरीदेखि १२ कक्षासम्मका कक्षाहरू सञ्चालन भइरहेका छन् । सो विद्यालयमा कक्षा ११ र १२ मा व्यवस्थापन, होटल व्यवस्थापन, विज्ञान, मानविकी र कानुन विषयको अध्ययन अध्यापन हुँदै आइरहेको जनाइएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।