विद्यार्थीलाई आधारभूत सीप प्रदान गर्ने पाठ्यक्रम तयार भयो: मुख्यमन्त्री अधिकारी


     एभरेस्ट आवाज    
     जेठ ११ गते २०८१ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विद्यार्थीहरूलाई आधारभूत सीप प्रदान गर्न कक्षा ९ र १० को पाठ्यक्रम तयार भएको बताएका छन ।

नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको आयोजनामा शुक्रबार छोरेपाटन माविमा भएको ४१ औैं जुनियर र युवा तथा ३० औं शिक्षक नायक गोष्ठीको उद्घाटन गर्दै आफूले पहिलोपटक मुख्यमन्त्री हुँदा थालनी गरेको काम अहिले विज्ञ राखेर पुरा गरेको बताएका हुन।

तयार भएको पाठ्यक्रम मेडिकल इर्मजेन्सी, प्राकृतिक प्रकोप, बाढी नियन्त्रण तथा महिला हिंसा विरुद्धका सीपहरु लिनका निम्ती प्रभावकारी बन्ने विश्वास उनको छ ।

‘९ र १० कक्षाको लागि पाठ्यक्रम बनाउन पहिला मुख्यमन्त्री हुँदा सुरु गरेको थिए, अहिले विज्ञ राखेर त्यसको पाठ्यक्रम तयार भएको छ’ उनले भने । पाठ्यक्रमको महत्वपूर्ण पक्ष रेडक्रससँग सम्बन्धित रहेको खुलाए ।

कास्की रेडक्रसले गरेका कार्यको प्रंशसा गर्दै विपद्मा रेडक्रस भन्ने कुरा स्थापित गर्न युवा रेडक्रसकर्मीको भूमिका महत्वपूर्ण रहेको बताए ।

कार्यक्रम मार्फत मुख्यमन्त्री अधिकारीले मानव सेवामा समर्पीत रहदै आपत विपद्को बेलामा साथी बन्ने जुनीयर रेडक्रसका योद्धाहरू तथा उनीहरूलाई सहयोग गर्ने शिक्षक नायकलाई सम्मान गरे ।

उनले आफू समेत रेडक्रसको आजीवन सदस्य रहेको भन्दै सोसाइटीले गर्ने गतिविधिमा सदैव साथ रहने प्रतिवद्धता जनाए । युवा रेडक्रस सर्कल छोरेपाटन माविको आतिथ्यता तथा व्यवस्थापनमा कार्यक्रम भएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।