सुशासन कायम गर्न भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्नुपर्छ : अध्यक्ष नेपाल


     एभरेस्ट आवाज    
     जेठ १८ गते २०८१ मा प्रकाशित




फाइल तस्विर

जेठ १८ काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सुशासन कायम गर्न भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्नुपर्ने बताएका छन् ।

पार्टीका पोलिटब्यूरो सदस्य देवशङ्कर पौडेलले लेखेको ‘लिखुसँग आत्मसमर्पण’ पुस्तक आलोकनगरस्थित केन्द्रीय कार्यालयमा आज विमोचन गर्दै उनले अहिलेका अधिकांश नेता तथा कार्यकर्ता भ्रष्टाचारको दलदलमा फस्दै गएकामा चिन्ता व्यक्त गरे ।

समाज भ्रष्टीकरणमा फस्दै गएपछि जनतामा छाएको निराशाले राजनीतिक व्यवस्था खतरामा रहेको बताउँदै उनले उनीहरूको विश्वास र भरोसालाई कायम राख्न समाजलाई भ्रष्टीकरणबाट मुक्त गर्नुपर्नेमा जोड दिए । मुलुकमा विभिन्न समयमा भएका राजनीतिक आन्दोलनबाट प्राप्त जनअधिकारलाई सुरक्षित गर्न देश र जनतालाई केन्द्रविन्दुमा राख्नुपर्ने अध्यक्ष नेपालको भनाइ थियो ।

मुलुकको राजनीति अहिले सहज ढङ्गले अगाडि बढ्न नसकेको बताउँदै उहाँले राजनीति सहज बनाउन तीनै तहका सरकारले चाँडो नागरिकलाई आवश्यक सेवा उपलब्ध गराउनुपर्ने बताए । उनले पौडेलद्वारा लिखित पुस्तकले पाठकलाई नयाँ ज्ञान दिने विश्वास व्यक्त गरे ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले वैचारिक दृष्टिकोण तथा तार्किक बहसका लागि सबैले किताब पढ्ने बानी बसाल्नुपर्ने सुझाव दिए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।