अन्नपूर्ण आरोहण दिवस तीन दिन पोखरामा विविध कार्यक्रम गरेर मनाईने


     एभरेस्ट आवाज    
     जेठ १९ गते २०८१ मा प्रकाशित




पोखरा, जेठ १९

पोखरामा तीन दिन विविध कार्यक्रम गरेर अन्नपूर्ण आरोहण दिवस मनाईने भएको छ । अन्नपूर्ण प्रथम हिमालको आरोहण गरेको दिन जुन ३ तारिखको स्मरण स्वरुप पोखरामा आईतबारदेखि मंगलबारसम्म तीन दिन विविध कार्यक्रम गरेर ४७ औं अन्नपूर्ण आरोहण दिवस मनाउन लागिएको शनिबार पोखरामा आयोजक नेपाल पर्यटन वोर्ड प्रदेश कार्यालय पोखराले पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

दिवसको अवसरमा कुटनीतिक नियोगका अधिकारीहरुपनि पोखरा आउने भएका छन् । दिवसमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्र सचिव सेवा लम्सालसहित अमेरिका, बेलायत, भारत, चीन, इजरायल, श्रीलंका, पाकिस्तान, थाइल्याण्ड, मलेशियाका राजदूत तथा दुतावासका अन्य उच्च अधिकारी पोखरा आउने नेपाल पर्यटन वोर्डले जनाएको छ ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी), संयुक्त राष्ट्र संघीय जनसंख्या कोष (युएनएफपीए) दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सहितका कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि पनि यो भ्रमणमा सहभागी हुनेछन। दिवसमा अवसरमा अन्नपूर्ण हिमाल आरोहण गरेका तीनजना पर्वतारोही पूर्णिमा श्रेष्ठ, दाबा योङजन शेर्पा र लाक्पा डेन्डी शेर्पासहितका आरोहीलाई पनि सम्मान गरिने बोर्डका पोखरास्थित निमित्त प्रमुख नवीन पोखरेलले जानकारी दिए।

‘नेपालस्थित दूतावासका राजदूत सहित कुटनीतिक नियोगका पदाधिकारीको भ्रमणले पोखरा क्षेत्रमा आगामि दिनमा ती मुलुकका पर्यटकको आगमन बढ्ने अपेक्षा छ,’ पोखरेलले शनिबार आयोजित पत्रकार भेटघाटमा भने, ‘पोखरा र नेपालको पर्यटन क्षेत्रबारे सकारात्मक सन्देश प्रवाह गर्न कुटनीतिक नियोगको भूमिका महत्वपूर्ण हुनेछ।’

अन्नपूर्ण दिवसका कार्यक्रमका लागि ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकी र नेपाल पर्वतारोहण संघ गण्डकीसँग सहकार्य गरेको उनले बताए। आईतबार बिहान पोखरा आउने कुटनीतिक नियोगका प्रमुख तथा कर्मचारी त्यही दिन कास्कीको धम्पुस प्रस्थान गर्नेछन । धम्पुसबाट धिताल गाउँ हुँदै अस्तामसम्म पदयात्रामा जाने कार्यक्रम रहेको पनि पोखरेलले बताए। पदयात्रापछि उनीहरु आइतबार बेलुकी नै पोखरा फर्किने उनले बताए।

उनका अनुसार पोखरा आसपासका क्षेत्रमा प्रत्यक्ष अवलोकन गराउँदा उच्च पदाधिकारीबाट अन्नपूर्ण क्षेत्रको पर्यटन प्रवद्र्धनमा सघाउ पुग्नेछ। ‘पर्यटन राजधानी पोखरा र समग्र गण्डकी प्रदेशको मात्र नभई नेपालकै पर्वतीय पर्यटनको प्रचार प्रसार र प्रवद्र्धन हुनुको साथै यसबाट विश्व पर्यटन बजारमा समेत सकारात्मक प्रभाव पर्नेछ,’ उनले भने, ‘नेपालको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास यो भ्रमणले लिइएको छ।’ बोर्डका अनुसार नेपालमा पर्यटक आगमन हुने प्रमुख मुलुकमध्ये पहिलो नम्बरमा भारतीय धेरै छन। त्यसपछि अमेरिका, चीन, बेलायत, अस्ट्रेलिया, बंगलादेश लगायतका मुलुकका पाहुना बढी आउँछन।

टानका अध्यक्ष धर्मराज पन्थीका अनुसार अन्नपूर्ण दिवसको मूल कार्यक्रम भने जुन ३ जुन (सोमबार) हुनेछ । उक्त दिन विशिष्ट पाहुनासहित गण्डकी प्रदेश सरकार, पोखरा महानगरका प्रमुख र प्रतिनिधिसहित पर्यटन क्षेत्रका संघ, संस्था, पर्यटन व्यवसायीको उपस्थितिमा पोखरा क्षेत्रकै हाइकिङ गराइनेछ। ‘पर्यटनबारे अन्र्राष्ट्रिय बजारमा सकारात्मक सन्देश प्रवाह गर्नका लागि उच्चपदस्थ पाहुना पोखरा भित्रयाउन थालेका हौ। यसले साहसिक पर्यटन प्रवद्र्धनमा थप भूमिका निभाउनेछ,’ पन्थीले भने, ‘अन्नपूर्ण क्षेत्रको पहिचान थप फराकिलो बनाउने प्रयासमा हामी जुटेका हौ।’

पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरा र आसपासका क्षेत्रमा पाहुना भित्र्याउनका लागि यस्ता गतिविधि आवश्यक रहेको बताए। साहसिक पर्यटकीय गन्तव्यको रुपमा पहिचान पोखरा क्षेत्रले पहिचान कमाएकोले आगामि दिनमा थप पाहुना भित्रयाउने योजनाका लागि व्यवासायीले पहल गरिरहेको उनले बताए। ‘उच्चपदस्थ पाहुनाले खिचेर सामाजिक सञ्जालमा पोष्ट गरेको एउटै फोटो र भिडियो पनि पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण हुनेछ,’ उनले भने। पर्यटन क्षेत्रले पर्यटन क्षेत्र अप्ठेरो परेको बेलामा यसअघि पनि उच्चपदस्थ पाहुनालाई पोखरा ल्याएर आसपासका क्षेत्रमा घुमाउँदै आएको छ।

अन्नपूर्ण दिवस विश्वका आठ हजार मिटर अग्ला हिमाल मध्ये आरोहण गरिएको पहिलो हिमाल हो। यसबाट नेपालको पर्यटन क्षेत्रको विकास र पर्वतारोहणको शुभारम्भ भई हिमाललाई विश्वभर चिनाउने दिनको सम्झनामा यो दिवस मनाउने गरिएको छ। सन् १९५० मा जुन ३ मा फ्रान्सेली आरोही मौरीस हर्जोग र लुई लचेनलले पाइला टेकेपछि विश्वका आठ हजार मिटर अग्लो हिमालमा पहिलोपटक आरोहण आरम्भ भएको दिनका रुपमा यो दिनलाई विषेश रुपमा मनाउन थालिएको हो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।