पोखरा, जेठ २
गण्डकी प्रदेश सरकारले सांसदलाई घुमाउरो बाटोबाट बजेट दिएको छ । सांसदलाई बजेट दिन अदालतले रोक लगाएपनि गण्डकी सरकारले घुमाउरो बाटोबाट सांसदलाई बजेट दिएको हो ।
यसअघि प्रदेश सरकारहरुले सांसद विकास कोषका नाममा सांसदहरुलाई बजेट दिने गरेका थिए । गण्डकी सरकारलेपनि केहि वर्ष यसको अभ्यास गरेको थियो । कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री भएका बेला तत्कालीन अर्थमन्त्री रामजीप्रसाद बरालले सो कार्यक्रम काटेपछि पार्टी र सांसदहरुले व्यापक विरोध गरेका थिए । सो बेला दवाब खेप्न नसकेपछि घुमाउरो बाटोबाट सांसदलाई बजेट दिइएको थियो । तर पछिल्लो समय अदालतले नै सांसदलाई बजेट दिन रोक लगाएको छ । तर त्यसका बाबजुदपनि सांसदलाई बजेट दिन भने छाडिएको छैन । गण्डकीमा यसपटकपनि घुमाउरो प्रक्रियाबाट त्यसलाई निरन्तरता दिइएको छ ।

अदालतका कारण सोझै बजेट नदिएपनि घुमाउरो बाटोबाट सांसदलाई बजेट दिएको गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री डा.टकराज गुरुङले आईतबार आयोजित पत्रकार सम्मेलनमा स्वीकारे । उनका अनुसार गण्डकी सरकारले शनिबार ल्याएको बजेटमा उल्लेख भएको ‘एक निर्वाचन क्षेत्र एक सडक’ कार्यक्रम सोहि कार्यक्रम हो । उनले भने, बजेटमा उल्लेख ‘एक निर्वाचन क्षेत्र एक सडक’ कार्यक्रम प्रत्यक्ष निर्वाचित प्रदेस सभा सदस्यले छनौट गर्ने र त्यसमा समानुपातिक प्रदेश सभा सदस्यले सघाउने कार्यक्रम हो ।’
आर्थिक मामिला मन्त्री डा.गुरुङले आर्थिक वर्ष २०८१÷८२ को बजेट कार्यान्वयनको आधारसहित ल्याएको दाबी गरे । तर त्यसका लागि स्थिरता आवश्यक रहेको उनको भनाई छ । बजेट कार्यान्वयन अस्थिर राजनीतिबाट हुन्छ भन्ने मलाई लाग्दैन,उनले भने,‘त्यसैले बजेट कार्यान्वयन गर्न स्थिरता चाहिन्छ । हामीपनि स्थिरताको लागि लागौं ।’ तर अहिलेको सरकारले बजेट ल्याउने अनि अर्को सरकारले कार्यान्वयन गर्ने हो भने बजेट कार्यान्वयन हुने स्थिति नबन्ने उनले स्पष्ट पारे ।
मन्त्री डा.गुरुङले बजेट कार्यान्वयनका लागि चाँडपर्व आउनु अघि नै लागत स्टिमेट, त्यसको कार्यविधीलगायतका कार्यहरु सक्ने वातावरण बनाउने बताए । त्यसो भएमा दशैं, तिहारलगत्तै कार्यक्रम, योजनाहरु कार्यान्वयनमा जाने उनको भनाई छ । ‘बजेट कार्यान्वयनको प्रशासनिक प्रक्रिया समय सूचीसहित साउनबाटै थाल्छौं । वर्किङ प्लानसहित कार्यान्वयनमा जाने भएकाले बजेट कार्यान्वयन हुनेमा विश्वस्त छौं ।’
पत्रकार सम्मेलनमा उपस्थित गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यध्यक्ष कृष्णप्रसाद देवकोटाले गण्डकीको नीति तथा कार्यक्रम र बजेट प्रदेश पञ्चवर्षीय योजनामा आधारित भएर आएको बताए । ‘पञ्चवर्षीय योजना नीति तथा कार्यक्रम र बजेटबीच तादात्म्यता मिलेर आएको छ । यसले व्यवस्थित विकासको बाटोमा लैजान्छ भन्ने देखिएको छ’–उनले भने ।
आर्थिक मामिला मन्त्रालयका सचिव पुरुषोत्तम शर्माले बजेट महत्वकांक्षी नभई धरातलीय यथार्थतामा टेकेर आएको बताए । कार्यान्वयनको आधार भित्रै रहेर बजेट आएको छ,उनले भने,‘बजेट भनेको होप डकुमेन्ट हो । यो आशा र उत्साह जगाउने खालको हुनुपर्छ । यसपटकको बजेटपनि त्यसरी नै आएको छ ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, साउन ३१ पोखरामा लोपोन्मुख लाखेनाच संरक्षणको प्रयास भएको छ ।…





