गण्डकीमा जेठ मसान्तसम्मको बजेट खर्च ४५.५६ प्रतिशत


     एभरेस्ट आवाज    
     असार ३ गते २०८१ मा प्रकाशित




पोखरा, असार ३

गण्डकी प्रदेशमा चालु आर्थिक वर्षको ११ महिनामा ४५ प्रतिशत मात्रै खर्च भएको छ । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०÷८१ अन्तर्गत गत साउनदेखि जेठ मसान्त सम्ममा ४५.४८ प्रतिशत मात्र बजेट खर्च गरेको हो । जसमा चालुतर्फ ४३.९४ प्रतिशत र पुँजीगततर्फ ४५.६० प्रतिशत बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालय गण्डकीले जनाएको छ ।

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०÷८१ का लागि ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट बिनियोजन गरेको थियो । जसमध्ये जेठ मसान्त अर्थात जेठ ३२ गतेसम्ममा १५ अर्ब २० करोड १० लाख १९ हजार ६ सय ४ रुपैयाँ खर्च भएको छ । प्रदेश लेखा नियन्त्रक कार्यालय गण्डकीका अनुसार चालुतर्फ १० अर्ब ६३ करोड १२ लाख ३८ हजार रुपैयाँ विनियोजन भएकोमा ४ अर्ब ६७ करोड १४ लाख ५६ हजार ४ सय ८१ रुपैयाँ खर्च भएको छ । त्यसैगरी पुँजीगततर्फ २० अर्ब १९ करोड ४ लाख ६२ हजार रुपैयाँ विनियोजन भएकोमा ९ अर्ब २० करोड १० लाख १९ हजार ६ सय ४ रुपैयाँ खर्च भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

वित्तीय हस्तान्तरण अनुदानतर्फ भने सन्तोषजनक खर्च भएको छ । वित्तीय हस्तान्तरणतर्फ २ अर्ब १० करोड ५५ लाख बजेट विनियोजन भएकोमा १ अर्ब ३२ करोड ७१ लख १४ हजार ५५ रुपैयाँ अर्थात ६२।७७ प्रतिशत बजेट खर्च भएको कार्यालयले जनाएको छ ।

मन्त्रालयगत खर्च अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले पछिल्लो ११ महिनामा ४४.०८ प्रतिशत बजेट खर्च गरेको छ । सो मन्त्रालयले १ अर्ब १३ करोड ८८ लाख २२ हजार बजेट रहेकोमा ५० करोड १९ लाख ७४ हजार रुपैयाँ खर्च गरेको छ ।

आर्थिक मामिला मन्त्रालयले ३९.४२ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । १५ करोड १५ लाख ७८ हजार बजेट रहेको आर्थिक मामिलाले ५ करोड ९७ लाख ५८ हजार रुपैयाँ खर्च गरेको छ ।

त्यस्तै, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले ५२.४ प्रतिशत बजेट खर्चिएको छ । १ अर्ब ६० करोड ४८ लाख ६८ हजार रुपैयाँ बजेट रहेको सो मन्त्रालयले ८४ करोड ९ लाख १२ हजार बजेट खर्च गरेको हो ।

कृषि तथा भूमि ब्यबस्था मन्त्रालयले ४०.६७ प्रतिशत बजेट खर्च गरेको छ । कुल २ अर्ब २१ करोड ६६ लाख २७ हजार बजेट रहेको सो मन्त्रालयले ९० करोड १५ लाख ७ हजार बजेट खर्च गरेको हो ।

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले ४६.५६ प्रतिशत खर्च गरेको छ । १२ अर्ब ५१ करोड २ लाख २७ हजार बजेट रहेको सो मन्त्रालयले ५ अर्ब ८२ करोड ५२ लाख १३ हजार रुपैयाँ खर्च गरेको छ ।

उर्जा, जलश्रोत तथा खानेपानी मन्त्रालयले ५९.८५ प्रतिशत बजेट खर्चिएको छ । कुल ५ अर्ब १ करोड २० लाख ५५ हजार रुपैयाँ बजेट रहेको सो मन्त्रालयले २ अर्ब ९९ करोड ९५ लाख ३९ हजार रुपैयाँ बजेट खर्चिएको छ ।

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले ५०.८४ प्रतिशत बजेट खर्च गरेको छ । कुल ५ अर्ब ५ करोड ७१ लाख ५६ हजार बजेट रहेको सो मन्त्रालयले २ अर्ब ५७ करोड ११ लाख ७६ हजार रुपैयाँ बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालय गण्डकी प्रदेशले जनाएको छ ।

गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा.टकराज गुरुङले अस्थिर सरकारका कारण बजेट खर्च गर्न नसकिएको बताए । उनले भने,‘बजेट ल्याउनु अगाडि अर्कै सरकार थियो । बजेटको केहि समय अगाडि सरकार बदलियो र हामीले बजेट ल्यायौं । तर परिस्थिति फेरी बदलियो र अर्कै सरकार आयो । अहिले फेरी हाम्रै सरकार आएको छ । वर्षमा चार पटक सरकार परिवर्तन भएर अस्थिर सरकार बन्दा बजेट खर्च सोंचेजस्तो भएन ।’ उनले अस्थिरताका बाबजुदपनि असार सम्ममा ४५ प्रतिशत बजेट खर्च हुनु सन्तोषजनक भएको बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।