स्व.लक्ष्मी सुन्दरी कर्माचार्यको स्मृतिमा मृगौला पिडितलाई रु एक लाख सहयोग हस्तान्तरण 


     एभरेस्ट आवाज    
     असार २४ गते २०८१ मा प्रकाशित




पोखरा । स्व.लक्ष्मी सुन्दरी कर्माचार्यको स्मृतिमा चन्द्रकृष्ण करामाचार्यद्वारा स्थापित स्व.लक्ष्मी सुन्दरी कर्माचार्य मृगौला पीडित सहयोग कोषले शनिवार मृगौलालाई सहयोग हस्तान्तरण गरेको छ । ३० लाख रुपैँयाको कोष स्थापना गरि पहिलोपटक पोखरा १४ बस्ने मृगौला पिडित ३२ बर्षिय लक्ष्मी बि.क. लाई १ लाख रुपैँया हस्तान्तरण गरिएको हो । 
कार्यक्रममा बोल्दै सामाजिक बिकास तथा स्वास्थ्यमन्त्री विन्दुकुमार थापाले मृगौला प्रत्यारोपणमा कानुनी जटिलता देखिएकाले संघ सरकारले नै कानुन संशोधन गरी सहज गराउनुपर्ने बताए ।
मन्त्री थापाले कानुनको फराकिलो दायरा नहुँदा बर्षेनी हजार नेपाली भारत गएर मृगौला प्रत्यारोपण गरेको तथ्याङ्क रहेको जिकिर गरे । उनले गण्डकी प्रदेशका १४ वटा अस्पतालमा निशुल्क डायलासिस सेवा गर्दै आएपनि बिरामीको संख्या बढेकोले अझै १ सय ४९ जना बिरामीले पालो कुर्नुपर्ने अवस्था रहेको जानकारी दिए ।
गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मी कुमारी बस्नेतले जिवनशैली र खानपानमा परिर्वतन गर्नुपर्नेमा जोड दिइन् ।
भिरकोट नगरपालिकाका प्रमुख गोविन्द कर्माचार्यले मृगौला रोगी बिरामीको संख्या बढ्दै जादा पालिका अस्पतालमा डायलासिस मेसिनको आवश्यकता महसुस भएको बताए ।
मणिपाल अस्पतालका मृगौला रोग बिशेषज्ञ डा.अविनाश मास्केले मृगौला रोग लाग्नुभन्दा पनि लाग्न नदिन सचेत हुनुपर्ने बताउदै नियमित रुपमा स्वास्थ्य जाँच गर्न आग्रह गरे ।
उद्योगपति एवं स्व.लक्ष्मी सुन्दरी कर्माचार्यका पति चन्द्रकृष्ण कर्माचार्यले मृगौला रोगले बिरामी मात्र नभई बिरामीको परिवार र आफन्तलाई समेत दुखी तुल्याउने बताए । उनले नेपालबाट भारतमा मात्र बार्षिक एक हजार बिरामीबाट दश अर्बभन्दा बढी प्रत्यारोपण र त्यसको उपचार हुने गरको बताउदै नेपालमा स्वेच्छिक रुपमा जोसुकैलाई पनि मृगौला दान दिन पाउने कानुनी व्यवस्था हुनुपर्ने माग राखे।
स्व. लक्ष्मी सुन्दरी कर्माचार्यका छोरा माइकल कर्माचार्यले सबै बिरामीलाई सहयोग गर्न नसकिएतापनि हरेक बर्ष एकजना बिरामीलाई आर्थिक सहयोग गर्ने प्रतिबद्दता व्यक्त गरे । 
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रिय अध्यक्ष आनन्दराज मुल्मीले नसर्ने रोगका बिरामीबाट राज्यको आर्थिक भार पर्दै गएको छ भने अर्कोतर्फ परिवार तर्फपनि विचलन आउने भएकाले नसर्ने रोगको जनचेतना फैलाउनुपर्ने आवश्यकता रहेको बताए ।
कर्माचार्य समाज कास्की एवं महिला समाज कास्कीको संयुक्त आयोजनामा सम्पन्न सो कार्यक्रममा केन्द्रिय अध्यक्ष चन्द्रेश्वर कर्माचार्य, नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखे, मृगौला पिडित छनोट समितिका सदस्य कल्याण कर्माचार्य, ईश्वर कर्माचार्य, पोखरा ११ का वडाअध्यक्ष प्रेम कर्माचार्य, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठ, सुजन गुरुङ लगायतका वक्ताहरुले रोग लाग्नुभन्दा पनि रोग नै लाग्न नदिनु उचित हुने बताए ।
स्व. लक्ष्मी सुन्दरी कर्माचार्यको गत पुस २४ गते मृगौला रोगबाट मृत्यु भएको थियो । परिवारले उहाँको स्मृतिमा सो कोष स्थापना गरेको हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।