बाढीपहिरो अपडेट: देशभर ८३ जनाको मृत्यु , १०६ घाइते


     एभरेस्ट आवाज    
     असार २७ गते २०८१ मा प्रकाशित




फाइल तस्विर

अविरल वर्षाका कारण आएको बाढीपहिरो लगायतका विपद्का घटनामा परेर हालसम्म ८३ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार गत जेठ २८ गतेदेखि आज बिहानसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरामा परेर ८३ जनाको मृत्यु भएको हो । जसमा ३३ पुरुष र २५ महिला, २५ बालबालिका रहेका छन् ।

केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायव महानिरीक्षक (डिआईजी) दानबहादुर कार्कीले जेठ २८ देखि आज बिहानसम्म बाढीपहिरोमा परेर १०६ जना घाइते र पाँच जना बेपत्ता भएको जानकारी दिए । घाइते हुनेमा ५१ पुरुष, ३६ महिला, १९ बालबालिका रहेका छन् । घाइतेको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बेपत्ता हुनेमा दुई पुरुष र तीन महिला रहेका छन् ।

उक्त समयमा बाढीपहिरोका कारण तीन सय ८४ पशु चौपायको क्षति भएको छ । यस्तै, एक सय ३९ घर र ५४ गोठमा क्षति पुगेको प्रहरी प्रवक्ता कार्कीले बताए । वर्षा पहिरोका कारण आठ सय ५८ घर विस्तापित भएका छन् । बाढीपहिरोमा परेकाको उद्धारका लागि हालसम्म पाँच हजार चार सय २८ प्रहरी परिचालन गरिएको छ ।

मुलुकको विभिन्न भागमा परेको अविरल वर्षाका कारण एक विद्यालय र दुई सरकारी भवनमा क्षति पुगेको छ भने ४१ पुल बगाएको छ । यस्तै, एक सय ६१ घर डुबानमा परेको र एक सय १६ रोपनी जग्गा पुरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

अविरल वर्षाका कारण देशभर एक हजार एक सय १७ घटना घटेको र जसका कारण दुई हजार नौ सय ५४ घरपरिवार विस्तापित भएको प्रहरी प्रवक्ता कार्कीले बताए । उक्त घटनामा रु १० करोड ७० लाख ४० हजार नौ सय बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।