एसईई पास विद्यार्थीलाई तमु धिंको शैक्षिक परामर्श


     एभरेस्ट आवाज    
     श्रावण ५ गते २०८१ मा प्रकाशित




पोखरा । तमु धिं नेपालले एसईई उत्तिर्ण तमु विद्यार्थीहरुलाई बधाई र शैक्षिक परामर्श दिएको छ । तमु धिंले शनिबार एक कार्यक्रम आयोजना गरी परामर्श दिएको हो ।

तमु धिं नेपालको प्रांगण भएको कार्यक्रममा एसईई उत्तिर्ण १ सय २० भन्दा बढि विद्यार्थीहरुलाई बधाई दिदैं सम्मानपत्रले सम्मान गरेको तमु धिं नेपालका अध्यक्ष हुम तमुले जानकारी दिए । यस क्षेत्रमा करिब १ सय ५० भन्दा बढि तमु विद्यार्थीहरुले एसईई पास गरेको उनको आँकलन छ ।

उच्च शिक्षामा कुन क्षेत्रमा जाँदा ठिक हुने र छात्रवृत्ति लगायत विषयमा जानकारी गराउन परामर्श आयोजना गरिएको उनको भनाई छ । ‘उच्च शिक्षामा कुन विषय पढ्ने । अहिलेसम्म तमुहरु कहाँ प्रगति गरेको छ भन्ने विषयमा ध्यान दिने कुरामा परामर्श भयो,’ उनले भने ‘विद्यार्थीहरुलाई आदिवासी कोटा लगायत सेवा सुविधाका बारेमा पनि थाहा हुदैन । यि सबै कुरामा परामर्श दिइएको हो ।’
कार्यक्रममा व्यावसायिक परामर्शदाता डिबी (धनबहादुर गुरुङ), तमु धिं नेपालका अध्यक्ष हुम तमु लगायतले परामर्श दिएका थिए । आफ्नो क्षमता अनुसारको विषय लिएर पढ्द उनको सुझाव थियो ।

उक्त कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले एसईई पास भएका विद्यार्थीहरुलाई उच्च शिक्षापछि देश र आफ्नो समुदायप्रतिको जिम्मेवारी पुरा गर्न आग्रह गरे । ‘हाम्रो समुदायमा विदेशिने चलन बढिरहेको छ । यसमा हामी सजग हुन जरुरी छ,’ उनले भने, ‘योग्य, क्षमतावान र सिप बढाउन जुनसुकै देश जानुहोस् तर पछि नेपाल आएर देश र समुदाय प्रतिको जिम्मेवारी पुरा गर्न नभुल्नुहोला ।’

तमु धिं नेपालका संस्थापक अध्यक्ष कर्म तमु, वरिष्ठ उपाध्यक्ष श्रीप्रसाद गुरुङ, महासचिव जुनाकुमारी गुरुङ लगायतले विद्यार्थीहरुको उज्ज्वल भविष्यको कामना गर्दै उच्च शिक्षा हासिलका लागि मेहनत गर्न आग्रह गरे ।

कार्यक्रममा मेजर जयबहादुर गुरुङ अक्षयकोषको रकमबाट तमु धिंमा आवद्ध विभिन्न समाजका १३ जना दीर्घरोगीहरुलाई उपचार रकम सहयोग गरिएको थियो । सोही कार्यक्रममा तमु धिं नेपाल केन्द्रीय युवा समितिले सांस्कृतिक नृत्य प्रस्तुत गरेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।