समतामा गुरुलाई विद्यार्थीको सम्मान


     एभरेस्ट आवाज    
     श्रावण ६ गते २०८१ मा प्रकाशित




पोखरा, साउन ६
पोखरा–५, प्रस्याङस्थित समता शिक्षा निकेतनमा आइतबार गुरु सम्मान कार्यक्रम आयोजना गरिएको छ । विद्यालयमा अध्यापनरत शिक्षकका लागि गुरुपूर्णिमा तथा व्यास जयन्तीको अवसर पारेर गुरु सम्मान तथा विविध सांस्कृतिक कार्यक्रमको आयोजन गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि कास्कीका शिक्षा विकास तथा समन्वय इकाई प्रमुख लोकनाथ आचार्यले कार्यक्रम उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि आचार्यले आफूलाई शिक्षादीक्षा दिने गुरुलाई सम्मान गर्न पाउनु सबैका लागि खुसीको क्षण भएको बताए ।
वर्तमान समयमा निजी शिक्षा महंगो हुदै गएको भएपनि समताले त्यसलाई केही हदसम्म भएपनि कम गर्न प्रयत्न गरेकोमा आफूलाई खुशी लागेको बताउँदै आउदा दिनमा समताले गर्ने र कार्यालयको तर्फबाट गर्न सक्ने सहयोग गर्न आफू तयार रहेको उनले बताए । ‘समताले सधै गुुणस्तरीय शिक्षा प्रदान गरिरहेको छ,’ उनले भने । यसवर्ष पनि एसईई परीक्षामा सबैजना विद्यार्थी (६७) उत्कृष्ट अङ्कसहित उत्तीर्ण गरेकोमा यो परिणाम अरुका लागि पनि सिकाई भएको उनले बताए ।
कार्यक्रमका विशिष्ट अतिथि पोखरा महानगरपलिका– ५ का वडाअध्यक्ष विष्णु बरालले समताले दिएको शिक्षाप्रति आफू अत्यन्तै हर्षित भएको बताए । विद्यालयले न्युन शुल्कमा गुणस्तरीय शिक्षा दिइरहेको उनले बताए । ‘समतालाई के कसरी सहयोग गर्न सकिन्छ त्यो गर्न समेत हामी तयार छौं,’ बरालले भने ।
विद्यालयका प्रधानाध्यापक झलकप्रसाद शर्माले नेपालमा गुरु शिष्य परम्परा अनन्तकालदेखि चल्दै आएकोमा अहिले पनि त्यसकै निरन्तरता रहेको बताए । विद्यालयले यस्तो कार्यक्रम गर्न हरेक वर्ष गुरु पूर्णिमामा गर्ने र शिक्षकलाई सम्मान गर्ने परम्परा रहेको विद्यालयको प्रधानाध्यपक शर्माले बताए ।
आजको दिन आफूलाई शिक्षा दिने, मन्त्र दिने अनि असल बाटो देखाउने सम्पूर्ण गुरुलाई सम्मान गर्ने दिन भएको विद्यालयको व्यवस्थापक उमेश रेग्मीले बताए । कार्यक्रम कक्षा नौका विद्यार्थी ऋतिका तिवारी, अञ्जली कुमारी ठाकुर तथा प्रतिष्ठा सुवेदीले सञ्चानल गरेका थिए भने सभापतिको रुपमा कक्षा नौ का छात्र कोमल अर्यालले गरेका थिए । कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम सञ्चालन समेत गरिएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।