गञ्जिमै मन्त्रालय गएपछि मन्त्री मनाङे फेरी विवादमा


     एभरेस्ट आवाज    
     श्रावण १२ गते २०८१ मा प्रकाशित




पोखरा, साउन १२

गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री राजिव गुरुङ उर्फ दीपक मनाङे फेरी विवादमा तानिएका छन् । कहिले खेलकुदका पदाधिकारीलाई लात्तले हानेर त कहिले मन्त्रालयकै कर्मचारी कुटेर बारम्बार विवादमा आइरहने मन्त्री मनाङे अहिले फेरी भित्री बस्त्र (गञ्जी) मात्रै लगाएर मन्त्रालय गएपछि पुनः विवादमा तानिएका हुन् ।

गुण्डा नाईकेको छवी संग्ल्याउन राजनीतिमा प्रवेश गरेका उनी आफ्नो पुरानै शैलीका कारण बारम्बार विवादमा आइरहन्छन् । यस पटक भने उनी कर्मचारी वा कसैलाई कुटेर नभई गञ्जीमात्रै लगाएर मन्त्रालय गएपछि आलोचना भइरहेको छ । मन्त्रालयकै केहि व्यक्तिबाट सार्वजनिक भएको सो फोटो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जहाँ नागरिक अगुवा तथा सर्वसाधारणहरुले मर्यादा विपरित गञ्जीमात्रै लगाएर मन्त्रालयमा गएको भन्दै आलोचना गरेका छन् ।

मन्त्री मनाङे बुधबार गञ्जीमात्रै लगाएर मन्त्रालय गएका थिए । सो क्रममा उनले सेवाग्राहीलाईसमेत भेटेको बताइएको छ । त्यस दिन उनले मन्त्रालयमै मदिरा सेवन गरेको श्रोत बताउँछ । नाम नबताउने शर्तमा श्रोतले भन्यो,‘त्यो दिनमात्र होईन, यसअघिपनि धेरै पटक मन्त्रीज्यूले कार्यालयमै मदिरा सेवन गर्ने गर्नुहुन्थ्यो । बुधबार त गञ्जी लगाएर बस्नुभयो, अनि मदिरा सेवनपनि गर्नुभयो ।’ मनाङेले अति गरेपछि फोटो सार्वजनिक गरिदिएको श्रोतको भनाई छ ।

यसैबीच, मन्त्री मनाङेले पछिल्लो पटक दिएको अभिव्यक्तिपनि विवादमा आएको छ । राइड सेयरिङको पक्षमा ओकालत गर्न पुगेका राइडर्सको समूहले यातायात व्यवसायीले राईड सेयरिङ खारेज गर्न माग गर्दै दिएको ४८ घण्टे अल्टिमेटमबारे जिज्ञासा राखेका थिए । जवाफमा मन्त्री मनाङेले ‘यातायात व्यवसायीले आफूसँग व्ल्याकमेलिङ गर्न खोजेका हुन् । तिनीहरुको माग पूरा गर्दिन । बरु उनीहरुले दिएको समयसीमासम्म ढुक्कले रक्सी खान्छु, सुत्छु’ भनेको भेटमा सहभागिले बताएका छन् । सो क्रममा मनाङेले उनीहरुलाई पनि रक्सी खाएर जान आग्रह गरेको श्रोतको दाबी छ ।

मन्त्री मनाङेका राजनीतिक सल्लाहकार शैलेन्द्रकुमार रावतले भने मन्त्री मनाङे फिल्ड रिपोर्टिङबाट सिधै मन्त्रालय जाँदा कपडा फेर्न नपाएका कारण गञ्जीमा देखिएको दाबी गरेका छन् । उनका अनुसार मन्त्री मनाङे बुधबार पर्वतको डिमुवास्थित बस्तीमा पहिरोको खतराबारे निरीक्षण गरेर फर्किएपछि सिधै मन्त्रालय गएका थिए । मन्त्री मनाङेको बचाउ गर्दै उनले भने,‘फिल्ड निरीक्षणपछि सिधै मन्त्रालय जानुभएको र सो क्रममा सेवाग्राही आइहालेपछि गञ्जीमै भेट्नुभएको हो । उहाँको नियत नभई सेवाग्राहीलाई प्राथमिकता दिदा भुलवश कपडा त्यस्तो पर्न गएको हो ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।