पोखरामा भएको स्कुल बस दुर्घटनाबारे अध्ययन गर्न पोखरा महानगरले बनायो छानविन समिति


     एभरेस्ट आवाज    
     श्रावण १४ गते २०८१ मा प्रकाशित




पोखरा, साउन १४

पोखरामा आज विहान भएको स्कुल बस दुर्घटनाबारे अध्ययन गर्न पोखरा महानगरपालिकाले छानविन समिति बनाएको छ । पोखराको फुस्रेखोला आज विहान करीब ९ बजे पोखराको एलपी देवकोटा मेमोरियल स्कुलको बस दुर्घटना सम्बन्धि अध्ययन गर्न महानगरले शिक्षा निर्देशक हेमप्रसाद आचार्यको संयोजकत्वमा छानविन समिति बनाएको हो ।

छानविन समितिको सदस्यमा उपसचिव कृष्णप्रसाद तिवारी, नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापा, मे.ई.सरोज चालिसे र शिक्षा अधिकृत रामप्रसाद तिवारी सदस्य सचिव रहेको छानविन समिति बनाएको हो । बस दुर्घटनाबारे अध्ययन गर्न पोखरामा पहिलोपटक छानविन समिति बनाइएको हो । यसअघि कयौं पटक दुर्घटना हुँदापनि छानविन समिति बनाइएको थिएन ।

छानविन समितिलाई दुर्घटना हुनुको कारण, सवारी साधन, चालकको अवस्था, बसमा रहेका विद्यार्थी संख्या, बसमा विद्यार्थी राख्न पाउने संख्यालगायतका बारेमा अध्ययन गरेर ७ दिन भित्रमा प्रतिवेदन बुझाउन भनिएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले जारी गरेको सूचनामा उल्लेख छ ।

एलपी देवकोटा मेमोरियल स्कुलको बस तिव्र गतिसँगै ब्रेक फेल हुँदा दुर्घटना भएको बताइएको छ । दुर्घटनामा एकै परिवारका आमा र छोराको मृत्यू भएको छ भने २८ जना घाइते भएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।