बाराही माविमा गोविन्दप्रसाद–लीलावती कोइराला अक्षयकोष स्थापना


     एभरेस्ट आवाज    
     श्रावण १७ गते २०८१ मा प्रकाशित




पोखरा । पोखरा महानगरपालिका वडा नं. ५ मालेपाटनस्थित बाराही माविमा गोविन्दप्रसाद–लीलावती कोइराला अक्षयकोष स्थापना गरिएको छ । गोविन्दप्रसादका छोरा, बुहारी र छोरीले तीन लाख तीन हजार पाँच सय ५५ रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् ।

गोविन्दप्रसादका जेठा छोराबुहारी सुवास÷उमा, माइला छोराबुहारी सुरेशचन्द्र÷ज्ञानु, कान्छा छोराबुहारी लक्ष्मण÷सीता कोइरालाका साथै छोरी शान्तिकुमारी कोइरालाले अक्षयकोष स्थापना गरेका हुन् ।

छोरा सुवास बाराही माविबाटै २०५१ सालको एसएलसी परीक्षामा सहभागी भई बोर्ड पाचौँ स्थान हासिल गरेका थिए ।
गोविन्दप्रसाद सामाजसेवी, शिक्षासेवी र धार्मिक व्यक्तित्वकारुपमा परिचित थिए ।

उनले विद्यालय व्यवस्थापन समिति सदस्य भएर बाराही माविको २८ वर्ष सेवा गरेका थिए । वि.सं. १९९३ सालमा जन्मिएका उनको २०६३ सालमा निधन भएको थियो ।

कोइराला परिवारले पोखरा ५ का वडाध्यक्ष विष्णुप्रसाद बरालको उपस्थितिमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष निर्मल खत्री र प्रधानाध्यापक शिवप्रसाद भण्डारीलाई रकम हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा वडाध्यक्ष बरालले बाराही स्कुल पोखराकै नमूना विद्यालय भएको भन्दै गुणस्तरीय शिक्षाका लागि कुनै कञ्जुस्याइँ नगरिने स्पष्ट पारे । साथै उनले अक्षयकोष दाता परिवारले शिक्षाक्षेत्रमा उल्लेखनीय भूमिका खेल्दै आएको बताए ।

विद्यालयका प्रधानाध्यापक भण्डारीले अक्षयकोषले विद्यार्थीको अध्ययनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे । विद्यालय व्यवस्थापन समिति अध्यक्ष खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षासेवी डा. महेश्वर पराजुली, सहायक प्रधानाध्यापक तुलसीप्रसाद भण्डारी, शिक्षक रामप्रसाद पोखरेललगायतले बोलेका थिए ।

कार्यक्रममा पोखरा ५ का जनप्रतिनिधि हरिमाया विक, कल्पना भुवाई, मणिराम बराल, गोविन्द पराजुली, विद्यालयका पूर्वप्रधानाध्यापक हेरम्बप्रसाद कोइराला, सोमनाथ भूत्र्याल, पूर्वजनप्रतिनिधि पुष्पराज बराल, शिक्षासेवी भरतराज पौडेललगायत सहभागी थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।