पोखरामा अन्र्तराष्ट्रिय हट एयर बलुन फेष्टिभल हुने


     एभरेस्ट आवाज    
     श्रावण १८ गते २०८१ मा प्रकाशित




पोखरा, साउन १८

पोखरामा पुस तेश्रो साता अन्र्तराष्ट्रिय हट एयर बलुन फेष्टिभल हुने भएको छ । बलुन नेपालको आयोजनामा पोखरामा आगामी पुस १४ गतेदेखि १८ गतेसम्म (डिसेम्बर २९–जनवरी २ ) सम्म ‘नेपाल ईन्टरनेसनल बलुन फेष्टिभल हुने भएको हो । पोखरा–६ स्थित फेवातालको सिरान क्षेत्र लौरुकदेखि चंखपुरसम्मको ३ किलोमिटर क्षेत्रफलमा हुने फेष्टिभलको तयारी शुरु भएको बलुन नेपालले पोखरामा छलफल कार्यक्रम गरेर जानकारी गराएको हो ।

अंग्रेजी नया वर्षको स्वागतार्थ आयोजना हुने हट एयर बलुन फेष्टिभलमा नेपालसहित करीब ३० देशले बलुन प्रदर्शनीमा सहभागिता जनाउने आयोजक बलुन नेपालका अध्यक्ष विक्रम वाडेले जानकारी दिए । फेष्टिभलमा हरेक दिन विहान, दिउँसो र बेलुका बलुन उडाईने उनले बताए । बलुनमा उड्न चाहनेलाई ३ समयमा उडाएर प्राकृतिक छटासँगै हिमालको दृश्यावलोकन गराईन्छ,उनले भने,‘सनराईजका लागि विहान, घमाइलो दृश्यावलोकनका लागि दिउँसो र सनसेटको दृश्यावलोकन गर्न बेलुका गरेर ३ समय बलुन उडाईन्छ ।’

फेष्टिभलमा एकै पटक धेरै बलुन उडाउँदा त्यसको रौनक नै छुट्टै हुनुका साथै सांस्कृतिक कार्यक्रमसमेत गरिने जनाइएको छ । जहाँ नेपालका टिपिकल संस्कृतिहरुको प्रदर्शन तथा विभिन्न देशबाट ल्याइएका सांस्कृतिक प्रदर्शनीपनि गरिने उनको भनाई छ । यसका अलावा कार्यक्रम स्थलमा विभिन्न खानाका परिकारहरु, मनोरञ्जनका लागि पिङलगायतपनि हुने ईभेन्ट म्यानेजर प्रतीक्षा डंगोलले बताईन् ।

फेष्टिभलको पुस १४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यतालिका तय भएको छ । कार्यक्रमको समापन पुस १८ गते गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्ने ईभेन्ट म्यानेजर डंगोलले जानकारी दिईन् । कार्यक्रमलाई सभ्य र भव्य बनाउन सुरक्षा व्यवस्था कसिलो बनाईने उनले बताईन् । ‘कार्यक्रममा सहभागि भिभिआईपी, भिआईपी र सर्वसाधारण सबैका लागि व्यवस्थित तरिकाले सुरक्षा व्यवस्था मिलाउँछौं’–उनले भनिन् ।

फेष्टिभलले पोखराको पर्यटनमा छुट्टै माहोल सिर्जना गर्ने बलुन नेपालका सञ्चालकमध्येका एक सविन महर्जनले बताए । उनले भने,‘अहिलेको शिथिल पर्यटन उकास्न फेष्टिभल कोशेढुंगा सावित हुनेछ ।’

छलफल कार्यक्रममा सहभागि कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले जोखिम व्यवस्थापन गरेरमात्र कार्यक्रम गर्न सुझाए । उनले वीमालगायत गर्नेतर्फ सचेतपनि गराए ।

पोखरा अन्र्तराष्ट्रिय विमानस्थलका जनरल म्यानेजर योगेन्द्र कुँवरले बलुन फेष्टिभल पोखराका लागि अवसर भएपनि यसमा उच्च जोखिम हुने भएकाले पर्याप्त सतर्कता अप्नाउन आग्रह गरे ।

नेपाल पर्यटन वोर्ड पोखराका प्रमुख नवीन पोखरेलले पर्यटक आकर्षित गर्न फेष्टिभल कोशेढुंगा सावित हुने बताए । ‘खास गरेर खर्च गर्ने पर्यटक भित्राउन फेष्टिभलले मद्दत गर्छ’–उनले भने । यसले पर्यटकको एक दिनको बसाई लम्ब्याउनेपनि उनको भनाई छ ।

पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले फेष्टिभलले पोखरा महानगरले १५ लाख पर्यटक भित्राउने भनेर घोषणा गरेको लक्ष्य भेट्टाउन सघाउने बताए । उनले भने,‘फेष्टिभलले संसारभरका पर्यटकको ध्यान नेपालतर्फ खिच्छ । जसले गर्दा पोखरामा पर्यटनको आगमनमा बृद्धि आउँछ ।’

पोखरा–९ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले पोखरामा अन्र्तराष्ट्रिय स्तरको हट एयर बलुन फेष्टिभल हुनु स्वागतयोग्य भएको बताए । ‘यसले पर्यटकको आगमन बढाउँछ अनि अर्थतन्त्र चलायमान गराउँछ’–उनले भने ।

नेपाल पर्यटन वोर्डका पूर्व सदस्य गणेशबहादुर भट्टराईले उच्च जोखिम भएको बलुन फेष्टिभल गर्दा सुरक्षा र सतर्कता अप्नाउन सुझाव दिए । रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले पोखरा स्ट्रिट फेष्टिभलसँग बलुन फेष्टिभल जुध्ने भएकाले मिति पुर्नबिचार गर्न आग्रह गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।