पोखरामा भोलि तायाःमचा नाच प्रतियोगिता हुँदै


     एभरेस्ट आवाज    
     भाद्र ७ गते २०८१ मा प्रकाशित




पोखरा, भदौ ७

पोखरामा भोलि तायाःमचा नृत्य प्रतियोगिता आयोजना हुँदैछ । नेवाः खल कास्कीको आह्वानमा हरेक वर्ष पोखरामा हुँदै आएको तायाःमचा नृत्य प्रतियोगिता यस वर्ष भोलि हुन लागेको हो । गाईजात्रा पछिको पहिलो शनिबार आयोजना हुँदै आएको प्रतियोगिता यस वर्ष नयाबजार सांस्कृतिक समितिको आयोजना तथा नेवा ल्याम्ह पुचः नयाबजार, नेवा मिसा पुचः नयाबजार र नेवाः कल्याणकारी गुठी सँगको सहकार्यमा पोखरा महानगरपालिका वडा नम्बर–९ नयाबजारस्थित शिव–गणेश मार्गमा हुँदैछ ।

‘संस्कृति परम्पराको प्रवद्र्धन ः पहिचानको संरक्षण भन्ने मूल नाराका साथ हुने प्रतियोगितामा यस वर्ष २९ टिमले सहभागिता जनाउँदैछन् । जसमा २८ टिमले प्रतियोगीका रुपमा र आयोजक नयाबजार सांस्कृतिक समितिको टिमले अप्रतियोगीका रुपमा सहभागिता जनाउने प्रतियोगिता सम्पादन समितिका मूल संयोजक शम्भुलाल श्रेष्ठले जानकारी दिए । प्रतियोगिताको शनिबार विहान पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्ने उनले बताए ।

प्रतियोगिता स्थलमा नेवारी खाना, खाजा, आईसक्रिम र बबल टी को स्टल रहने प्रचार संयोजक दीपकराज मुल्मीले जानकारी दिए ।

नेवार समुदायमा परिवारको सदस्यको मृत्यू भएको एक वर्ष भित्र गाईजात्रा निकाल्ने परम्परा छ । गाईजात्रामा तायाःमचा नृत्यसमेत समावेश गर्ने प्रचलन छ । गाईजात्राको अवसरमा देखाईने तायाःमचा नृत्यको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्ने उद्देश्यले पोखरामा गाईजात्रा पछिको पहिलो शनिबार तायाःमचा नृत्य प्रतियोगिता हरेक वर्ष आयोजना गरिदै आएको छ ।

सानुमान राजमान भाँडा उद्योगको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, पोेखरा महानगरपालिका, पोखरा महानगरपालिका वडा नम्बर–९, नेपाल पर्यटन वोर्ड र गण्डकी प्रज्ञा प्रतिष्ठान प्रवद्र्धकका रुपमा रहेका छन् ।

प्रतियोगिताको बिजेताले ३ लाख १ रुपैयाँ, द्वितीय हुनेले २ लाख १ रुपैयाँ, तृतीय हुनेले १ लाख १ रुपैयाँ र सान्त्वना हुनेले १० हजार १ रुपैयाँ प्राप्त गर्ने मूल संयोजक श्रेष्ठले जानकारी दिए । त्यस्तै महिलातर्फ प्रथम हुनेले ५० हजार, द्वितीय हुनेले ३० हजार र तृतीय हुनेले २० हजारसहित प्रमाणपत्र प्राप्त गर्ने उनले बताए । पुरस्कारको सबै राशी पोखरा तेर्सापट्टी निवासी स्व.हेमप्रसाद र बालकुमारी श्रेष्ठको स्मृतिमा उनका परिवारले उपलब्ध गराउने जनाइएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।