पोखरा, भदौ १०
पश्चिमाञ्चल माविले कास्की जिल्ला अन्तर मावि स्तरीय छात्रा भलिवल प्रतियोगिताको उपाधि हात पारेको छ। सोमबार भएको फाइनल खेलमा पोखरा–४, गैहपाटनस्थित पश्चिमाञ्चल माविले पोखराकै न्यू ग्यालेक्सी माविलाई सोझो सेटमा पराजित गरेको हो। पश्चिमाञ्चलले २५–९, २५–१४ र २५–२२ को सेटमा न्यू ग्यालेक्सीलाई पराजित गर्दै उपाधि हात पारेको हो ।
पोखरा बहुमुखी क्याम्पसले आयोजना गरेको प्रतियोगितामा उपाधि हात पारेसँगै पश्चिमाञ्चलले नगद ३० हजार रुपैयाँ सहित ट्रफी हात पार्यो। क्याम्पसले हरेक वर्ष आयोजना गर्ने प्रतियोगितामा पश्चिमाञ्चलले योसँगै लगातार तेश्रोपटक उपाधि हात पारेर ह्याट्रिक गरेको हो। उपविजेता बनेको न्यू ग्यालेक्सीले नगद २० हजार रुपैयाँ सहित ट्रफी हात पारेको छ ।
प्रतियोगिताका संयोजक विनोद आचार्यका अनुसार तीनदिनसम्म चलेको प्रतियोगितामा कास्कीका निजी र सामुदायिक गरि २३ विद्यालयले भाग लिएका थिए। विद्यार्थीमा भएको खेल क्षमता प्रस्फुटन गराउनका लागि प्रतियोगिता आयोजना गरेको उनले बताए ।
विजयी विद्यालय तथा खेलाडीलाई क्याम्पस संचालक समितिका अध्यक्ष नरेन्द्रमान लालचन, क्याम्पस प्रमुख शिशुकला पराजुली सहितले नगद, प्रमाणपत्र, मेडल तथा शिल्ड प्रदान गरेका थिए। खेलकुदमार्फत विद्यार्थीको व्यक्तित्व र नेतृत्व विकास गर्न प्रोत्साहन गर्ने उद्देश्यले छात्रा भलिबल प्रतियोगिता आयोजना गरिएको क्याम्पस प्रमुख पराजुलीले बताईन् ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई पनि पुरस्कृत गरिएको थियो। यो संस्करणको उत्कृष्ट स्पाइकरमा न्यू ग्यालेक्सीकी डुमी सारुमगर, उत्कृष्ट डिफेन्डरमा न्यू ग्यालेक्सीकै समीक्षा गर्बुजा भए । त्यस्तै उत्कृष्ट ब्लकरमा पश्चिमाञ्चलकी भावना छन्त्याल, उत्कृष्ट सर्भरमा पश्चिमाञ्चलकै रेखा पाइजा, उत्कृष्ट खेलाडीमा पश्चिमाञ्चलकी सजिना बुढाथोकी भईन। त्यस्तै प्रतियोगिताको उत्कृष्ट प्रशिक्षकमा पश्चिमाञ्चलका मलिन रोकामगर भए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पर्यटन विभागले यही कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी…







