‘जनयुद्धका बेपत्तालाई सहिदकै दर्जा’


     एभरेस्ट आवाज    
     भाद्र १० गते २०८१ मा प्रकाशित




पोखरा, भदौ १०

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले बेपत्तालेपनि सहिदकै दर्जा पाउने बताएका छन् । नेकपा माओवादी केन्द्र निकट जनयुद्धका सहिद तथा बेपत्ताका परिवारसँग सोमबार पोखरामा भएको भेटका क्रममा पूर्व प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डले बेपत्ताको छानविन गर्दा नभेटिएमा उनीहरुलाई सहिदको दर्जा दिईने बताएका हुन् । संक्रमणकालीन न्याय सम्बन्धी (टिआरसी) विधेयक पास भइसकेकाले अब आयोग बन्ने भन्दै उनले भने,‘टिआरसी आयोग सहिदका लागि मात्र बन्ने होईन । बेपत्ताका लागिपनि हो । बेपत्ताको छानविन हुन्छ । छानविनमा भेटिएन भने सहिदकै सम्मान र सहिदकै परिपुरण पाउने हुन्छ । बेपत्ता भएका भेटियो भने त झन् राम्रो भईहाल्यो ।’ उनले बेपत्ताको छानविनमा ढिलाई नहुने बताए । अब छिट्टै आयोग बन्ने भन्दै उनले भने,‘त्यसपछि छिटोछिटो काम हुन्छ । बेपत्ताको छानविन हुन धेरै समय लाग्दैन ।’

अध्यक्ष प्रचण्डले टिआरसी विधेयकले माओवादीलाई तनावबाट छुटकारा दिएको बताए । यो पास नभएसम्म कहाँ के हुने हो भन्ने चिन्ता र तनाव भएपनि अब यसले तनावबाट छुटकारा मिलेको उनको भनाई थियो । विधेयकले पीडितलाई न्याय दिने बाटो खोलेको बताउँदै उनले भने,‘अब टिआरसी टुंगिएपछि जनयुद्धका सहिदलेपनि राष्ट्रिय सहिदको सम्मान पाउँछन् । त्यसपछि उनीहरुलाई सोहि अनुसारको व्यवहार हुन्छ ।’ अध्यक्ष प्रचण्डले जनयुद्धका सहिदले राष्ट्रिय सहिदको सम्मान नपाउँदा तनाव भइरहेपनि अब भने त्यो समस्या समाधान हुने उनको भनाई छ । हाम्रा सहिद राष्ट्रिय सहिद घोषणा नभएर हामी सबैलाई तनाव थियो,उनले भने,‘अरु सबै सहिद हुने, जनयुद्धका सहिद राष्ट्रिय सहिद नहुने, यसले तपाईं हामी सबैलाई टेन्सन थियो । त्योपनि यो पटक सरकारले सबैलाई राष्ट्रिय सहिद घोषणा मात्रै गरेको होईन, राजपत्रमै प्रकाशित गरियो र हाम्रा सबै सहिदहरु राष्ट्रिय सहिदको दर्जामा जानुभयो ।’

सहिद तथा बेपत्ता परिवारले भने बेपत्तालाईपनि सहिदकै दर्जामा राखेर सम्मान दिनुपर्ने माग गरेका थिए । बेपत्ता भएको दशकौं बित्दासमेत संस्कार गर्न नपाएको भन्दै उनीहरुले भनेका थिए,‘बेपत्ता भनियो तर अझै भेटिएको छैन । यसले गर्दा जातीय संस्कार अनुसार काम गर्नपनि पाइएन । त्यसैले बेपत्तालाईपनि सहिदकै दर्जामा राख्नुपर्छ भन्ने हाम्रो माग हो ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।