लामाचौर तिज महोत्सव भदौ १८ गतेदेखि, राष्ट्रिय महिला तथा पुरुष भलिबलमा ५/५ टिम सहभागी हुने


     एभरेस्ट आवाज    
     भाद्र ११ गते २०८१ मा प्रकाशित




पोखरा, भदौ ११

पोखरा महानगरपालिका वडा नम्बर–१६ लामाचौरमा आयोजना हुने लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा ५÷५ टिम सहभागी हुने भएका छन् । नव आदर्श सामुदायिक विकास समाज लामाचौर पोखराले हरेक वर्ष आयोजना गर्दै आएको लामाचौर तिज महोत्सवको अवसरमा आयोजित लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा दुबैतर्फ विभागीयसहित ५÷५ टिम प्रतिष्पर्धामा उत्रिने आयोजकले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । प्रतियोगिता भदौ १८ गतेदेखि भदौ २१ गतेसम्म चल्ने जनाइएको छ ।

लामाचौर तिज महोत्सवमा खेलकुदको छुट्टै ब्राण्ड बनाएको लामाचौर कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको ११ औं संस्करणमा नेपाल पुलिस क्लव, नेपाल आर्मीको त्रिभूवन आर्मी क्लव, सशस्त्र प्रहरीको एपीएफ क्लव, न्यू डायमण्ड युथ स्पोर्टस क्लव र न्यू एभरेस्ट भलिबल क्लवलाई सहभागिताका लागि पत्राचार गरिएको क्लवका प्रथम उपाध्यक्ष तथा सूचना तथा सञ्चार उपसमिति संयोजक दीनेश भण्डारीले जानकारी दिए ।

विगत दुई अघिदेखि शुरु भएको तेश्रो लामाचौर कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामापनि सशस्त्र प्रहरी बलको एपिएफ क्लव, नेपाल सेनाको त्रिभूवन आर्मी क्लव, नेपाल पुलिस क्लव, मणिमुकुन्द भलिबल क्लव बुटवल र गण्डकी प्रदेश भलिबल टिमलाई सहभागिताका लागि पत्राचार गरिएको प्रथम उपाध्यक्ष भण्डारीले बताए ।

सहभागी टिमको यातायात, आवास तथा खानालगायतका सम्पूर्ण खर्च आयोजकले नै बेहोर्ने उनले बताए । ‘सहभागी टिमको सम्पूर्ण खर्च हामीले नै बेहोर्ने हो’–उनले भने ।

प्रतियोगितामा महिला तथा पुरुष दुबैतर्फको उपाधि बिजेताले १ लाख ५० हजार १ सय ११, उपबिजेताले १ लाख १ सय ११ र तृतीय हुनेले ५० हजार १ सय ११ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा सर्बोत्कृष्ट खेलाडीसहित बेष्ट प्लेयर, बेस्ट क्विकर, बेस्ट लिव्रो, बेस्ट स्पाइकर, बेस्ट ब्लकर, बेस्ट सर्भर, बेस्ट डिफेन्डर र बेस्ट कोचलाई पनि आकर्षक पुरस्कार प्रदान गरिने क्लवका अध्यक्ष स्वागतसिंह भण्डारीले जानकारी दिए ।

प्रतियोगिता अवलोकनका लागि दर्शकले टिकट काट्नु पर्नेछ । भलिबल खेल अवलोकनका लागि पहिलो दिन एक सय, दोश्रो र तेश्रो दिन दुई सय र तेश्रो दिन अर्थात फाइनल खेल अवलोकनका लागि दर्शकले तीन सय रुपैयाँको टिकट काट्नुपर्ने अध्यक्ष भण्डारीले बताए ।

लामाचौर तिज महोत्सवको अवसरमा खुल्ला तिज गीत प्रतियोगितासमेत आयोजना गरिने जनाइएको छ । तिजको अवसरमा आयोजित खुल्ला तिज गीत प्रतियोगितामा प्रथम हुने समूहले ५० हजार १ सय ११, द्वितीय हुने समूहले ३० हजार १ सय ११, तृतीय हुने समूहले २० हजार १ सय ११ र सान्त्वना स्थान प्राप्त गर्ने समूहले १० हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने अध्यक्ष भण्डारीले जानकारी दिए ।

महोत्सवको अवसरमा विद्यालय स्तरीय लोक नृत्य प्रतियोगितासमेत आयोजना हुने आयोजकले जनाएको छ । जसमा प्रथम हुनेले ४० हजार १ सय ११, द्वितीय हुनेले २५ हजार १ सय ११, तृतीय हुनेले १५ हजार १ सय ११ र सान्त्वना स्थान प्राप्त गर्ने ३ टिमलाई ५ हजार १ सय ११ दरले पुरस्कार प्रदान गरिने उनले बताए ।

महोत्सवमा सम्झना भण्डारी, अस्मीता डल्लाकोटी, दुर्गेश थापा, दीपक खड्का, वसन्त विश्वकर्मा, सरस्वती लामिछाने र प्रकाश पराजुलीलगायतका कलाकारहरुको प्रस्तुती रहने जनाइएको छ ।

भलिबल प्रतियोगिताका लागि टिकट काट्नुपर्ने भएपनि महोत्सवमा भने प्रवेश निःशुल्क गरिएको अध्यक्ष भण्डारीले जानकारी दिए ।

पत्रकार सम्मेलनमा उपस्थित पोखरा–१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे र पोखरा–१६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले लामाचौर तिज महोत्सव र लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता लामाचौर र बाटुलेचौरको पहिचान भएकाले आफूहरुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । त्यस्तै, नेपाल भलिबल संघका उपाध्यक्ष यामबहादुर गुरुङले भलिबल प्रतियोगिता सञ्चालनका लागि आवश्यक प्राविधिक सहयोग गर्न आफूहरु तयार रहेको बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।