पोखरा, भदौ १५
पोखरा पृथ्वीचोक क्षेत्रका होटल व्यवसायीहरुले पोखरामा पर्यटकलाई जबरजस्ती स्कर्टिङ गर्ने कार्य निरन्तर भइरहेको भन्दै प्रशासनको ध्यानाकर्षण गराएका छन् । पृथ्वी होटल व्यवसायी समितिको शनिबार आयोजित १२ औं साधारण सभामा बोल्दै पोखरा सिटी क्षेत्रका होटल व्यवसायीहरुले पर्यटक चढेको गाडीलाई पोखरा छिर्ने नाकाबाटै स्कर्टिङ गरेर आफ्नो होटलमा लैजाने प्रवृत्ति अझै नघटेको बताएका हुन् । पोखरा लेकसाईडका ठूला होटलहरुले पर्यटकलाई पोखरा भित्रिने नाकाहरु छोरेपाटन, कालीमाटी, गगनगौंडा, बिजयपुरबाटै स्कर्टिङ गरेर होटलमा लैजाने गरेको उनीहरुको आरोप छ ।
यसअघिपनि पोखराका ठूला होटलहरुले गाडी र बाईकमा आएर पर्यटक बसलाई नाकाबाटै स्कर्टिङ गरेर होटलमा लैजाने गरेको गुनासो आएको थियो । त्यो गुनासोपछि प्रहरीले निगरानी बढाउनुका साथै त्यस्ता गतिविधिमा संलग्नलाई पक्राउ गरेर कारवाहीसमेत गरेको थियो । तर अहिले सोहि प्रवृत्ति बढेको व्यवसायीको गुनासो छ । पृथ्वी होटल व्यवसायी समितिका अध्यक्ष अम्बिका घिमिरे (अमृत)ले नाकाबाटै स्कर्टिङ गरेर होटल लैजाने क्रम जारी रहेको बताए । उनले भने,‘पर्यटनको राजधानी भन्छौं तर नाकाबाटै पर्यटकलाई स्कर्टिङ गर्ने, आफूलाई जान मन लागेको होटलमा जान नदिने, कहिं बिचको होटलमा पस्न नदिने गर्दा कस्तो सन्देश दिन्छ ? ।’ उनले यसको समाधान खोज्न प्रहरी र प्रशासनलाई आग्रह गरे ।
समितिका बरिष्ठ उपाध्यक्ष मोतीबहादुर श्रेष्ठले पर्यटनको राजधानी पोखराको प्रवेश द्वार पृथ्वीचोकमा दिउँसै पर्यटकलाई स्कर्टिङ गरेर कहिंपनि अडिन नदिई लेकसाईड लैजाँदा त्यसले नकारात्मक सन्देश दिएको बताए । ‘यो त पर्यटनको राजधानी भन्नै लाज लाग्ने स्थिति भयो । यो यथासक्य चाँडो रोकियोस्’–उनले भने । उनले सिटी क्षेत्रलाई राज्यलेसमेत विभेद गरेको उनले गुनासो गरे । पर्यटन प्रवद्र्धनमा समान रुपमा राज्यले सहयोग नगर्नुका साथै पूर्वाधार निर्माणमापनि बेवास्ता गर्नेगरेको उनको आरोप छ ।
होटल व्यवसाय महासंघ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखालले साना तथा मझौला होटल व्यवसायीको हितमा राज्यले ध्यान दिन नसकेको बताए । साना तथा मझौला व्यवसायीको लगानी संरक्षणमा राज्यले नै भूमिका खेल्नुपर्ने उनको भनाई छ ।
कार्यक्रममा गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले निजी क्षेत्रको पीरमर्कालाई सम्बोधन गर्न प्रदेश सरकार तयार रहेको बताए । आफूपनि व्यवसायीबाट राजनीतिमा प्रवेश गरेको भन्दै उनले भने,‘नीजि क्षेत्रले भोग्नुपरेका पीडाको विषयमा अवगत छु । व्यवसायीमैत्री कानून निर्माणमा प्रदेश सरकार लागिरहेको छ ।’ उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि प्रदेश सरकारले पहल गरिरहेको उनले जानकारी दिए । उनले पोखरा बसपार्कलाई सिटी बसपार्कका रुपमा विकास गर्ने र यो निर्माणका लागि आफूहरु लागिरहेको बताए ।
वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) सन्तोष निरौलाले पर्यटनको राजधानीको प्रवेश द्वारमै अवाञ्छित रुपमा भइरहेका कृयाकलाप रोक्न आफू लाग्ने बताए । पर्यटकलाई स्कर्टिङ गरेर होटल लैजानु गलत हो,उनले भने,‘यसले पर्यटनमा कालो धब्बा लागेको छ । यसलाई सुधार्नुपर्छ । त्यसका लागि प्रहरी लाग्छ ।’ तर त्यसमा व्यवसायीकोपनि सहयोग हुनुपर्ने उनको भनाई छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, असार १४कास्कीको मादी गाउँपालिकामा आयोजित सार्वजनिक सुनुवाइमा स्थानीय बासिन्दाले सबैभन्दा बढी…






