वैदेशिक अध्ययनलाई थप व्यवस्थित बनाउनेतर्फ काम गर्दैछौं : शिक्षा मन्त्री भट्टराई

- आफ्नो विषयगत दक्षता समाज विकास र मानव सेवामा लगाउन मेयर आचार्यको आग्रह


     एभरेस्ट आवाज    
     भाद्र २० गते २०८१ मा प्रकाशित




भदौ २० काठमाण्डौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले वैदेशिक अध्ययनलाई थप व्यवस्थित बनाउनेतर्फ मन्त्रालयले काम थालेको बताएकी छन् ।

वैदेशिक अध्ययनको सवालमा देशमा गुणस्तरीय उच्च शिक्षा वातावरण निर्माणमा भएका नीतिगत नियमहरूको प्रभावकारी कार्यान्वयन सहित आवश्यक नयाँ ऐन र कानूनको पहिचान गरेर कार्ययोजना बनाउन लागिएको जानकारी दिइन् ।

मन्त्री भट्टराईले यो कुरा बिहीबार मन्त्रालयले आयोजना गरेको रुसमा अध्ययन गर्न जाने विद्यार्थी र अभिभावकसँगको अन्तरकृयामा बताइन् ।

रुससहितका देशमा वैदेशिक अध्ययनमा जाने विद्यार्थीहरूलाई पूर्व जानकारी र सचेतना प्रदान गरेर मात्रै अध्ययन अनुमतिपत्र जारी गर्ने लगायतका विषयमा मन्त्रालयको ध्यान आकर्षित गरिएको उल्लेख गरे ।

नेपाली विद्यार्थी मात्र होइन, विदेशका विद्यार्थी पनि नेपालमा अध्ययनका लागि आउने वातावरण निर्माण गर्न मन्त्रालय तयारीमा जुटिरहेको बताउँदै मन्त्री भट्टराईले वैदेशिक शिक्षालाई विशेषीकृत गर्ने खाका तयार गरिने जनाइन् ।

कार्यक्रममा प्राप्त सुझावहरूलाई समेटेर आवश्यक नीति र नियम निर्माण गरेर कार्यान्वयन गर्ने प्रतिबद्धता भट्टराईले व्यक्त गरिन् ।

अन्तरक्रिया कार्यक्रममा रुसमा वैदेशिक अध्ययन गर्न जाने विद्यार्थी र तिनका अभिभावकहरूले सो सम्बन्धी विभिन्न सुझाव प्रदान गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय स्रोतले उल्लेख गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।