नजिकिदो चाडपर्वलाई लक्षित गरेर पोखरा–मुग्लिन सडकका खाल्डाखुल्डी पुरेर आवागमन सहज बनाईने


     एभरेस्ट आवाज    
     भाद्र २३ गते २०८१ मा प्रकाशित




पोखरा, भदौ २३

गण्डकी प्रदेश सरकारले निर्माण सामग्रीमा लाग्दै आएको दोहोरो कर हटाउने प्रतिबद्धता जनाएको छ । गण्डकी प्रदेशको लाईफलाईन मानिने पोखरा–मुग्लिन सडक खण्ड अन्तर्गत सडकको बिस्तार र स्तरोन्नतीको काम सुस्त भएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको पहलमा आईतबार पोखरामा भएको सरोकारावालाहरुको छलफलका क्रममा गण्डकी सरकारले निर्माण सामग्रीमा लाग्दै आएको दोहोरो कर हटाउने प्रतिबद्धता जनाएको हो । छलफलमा निर्माण व्यवसायीहरुले स्थानिय तहपिच्छे रोयल्टी तिर्नुपर्ने, करको दर प्रत्येक स्थानिय तहपिच्छे फरक÷फरक हुँदा काममा समस्या आएको बताएका थिए । उनीहरुले तत्काल सरकारै पिच्छे लगाइएको दोहोरो÷तेहेरो कर हटाउन माग गरेका थिए ।

निर्माण व्यवसायीले करको दर, दोहोरो करलगायतको आवाज उठाएपछि सरकोकारवालाको बैठकले दोहोरो कर हटाउने प्रतिबद्धता जनाएको मुख्यमन्त्री पाण्डेको सचिवालयले जनाएको छ । सो बैठकले दोहोरो कर हटाएर प्रदेश सरकारले निर्धारण गरेको रोयल्टी रकम नघट्ने गरी निर्माण सामग्रीमा कानुन बमोजिम एकमुष्ट रोयल्टी लिने निर्णय गरेको मुख्यमन्त्री पाण्डेका प्रेस संयोजक नरहरी सापकोटाले जानकारी दिए ।

बैठकले नेपालीको महान चाँड बडादशैं, तिहार, नेपाल सम्वत र छठ पर्वलाई मध्यनजर गर्दै निर्माणाधीन सडकका खाल्डाखुल्डी पुरेर आवागमन सहज बनाउनेपनि निर्णय गरेको छ । त्यस्तै, सो सडक क्षेत्रमा पर्ने बिजुलीका पोलहरु तत्काल स्थानान्तरण गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिइएको छ । त्यस्तै, पोखरा अन्तराष्ट्रिय विमानस्थलको गेटदेखि सेती नदीपुलसम्म बिजुलीका तार भूमिगत गर्ने कार्य तत्काल गरी दुई लेन सडक तत्काल निर्माण गर्नेपनि बैठकले निर्णय गरेको प्रेस संयोजक सापकोटाले बताए । उनका अनुसार बैठकले निर्माण सामग्रीका बारेमा सम्बन्धित पालिकाले स्रोत जान्न पाउने निर्णयपनि बैठकले गरेको छ ।

बैठकलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुग्लिन–पोखरा सडकको काम छिटो गर्न सरोकारावालाहरुलाई निर्देशन दिए । चाँडपर्वहरु नजिकिदै गएको तर सडक निर्माणको काम सुस्त हुँदा यात्रुले सास्ती भोग्नुपर्ने अवस्था रहेको भन्दै उनले भने,‘कुनै समस्या भए हामी सहजीकरण गर्नेछौँ, तर कामको गति छिटो बनाउनूस् ।’

छलफलमा गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेसहित पोखरा महानगरपालिकाका मेयर, गण्डकी प्रदेशका प्रमुख सचिव, शुक्लागण्डकी नगरपालिकाका मेयर, कास्की र तनहुँका प्रमुख जिल्ला अधिकारी, सडक आयोजनाका प्रमुख, विद्युत प्राधिकरणका इकाई प्रमुखहरु लगायतको उपस्थिती थियो ।

पोखरा–मुग्लिन सडक खण्डलाई दुई खण्डमा विभाजन गरेर काम भइरहेको छ । जस अनुसार पुर्वी खण्डमा ६४ प्रतिशत काम सकिएको छ भने पश्चिम खण्डमा ३० प्रतिशत मात्रै काम सम्पन्न भएको जनाइएको छ । आईतबारको छलफलमा निर्माण कम्पनीले अबको १५ महिना भित्र काम सक्ने लक्ष्य लिएको जानकारी दिएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।