
फाइल तस्विर
भदौ २३ काठमाण्डौं । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्तऋषिको विधिपूर्वक पूजाआराधना गरी मनाएका छन् ।
महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन् ।
स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गरेका छन्, जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ । सप्तऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषि पञ्चमी भनिएको हो ।
आजको दिनमा अरुन्धतीसहित सप्त ऋषिको पूजा गर्नाले पापबाट मुक्त भइने धार्मिक विश्वास रही आएकाले यस पर्वलाई वैज्ञानिक मान्नुपर्ने धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई बताए ।
आज स्नान गरी पूजाआजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कला आदि खाई एक छाक हविष्य बस्नुपर्ने व्रतविधि छ । ऋषिपञ्चमीसँगै चार दिन लामो तीज पर्व पनि आजैदेखि समापन भएको छ ।
यस वर्ष गत बिहीबार दर खाएर सुरु भएको तीज पर्व आज सकिएको हो । पहिलो दिन भाद्र शुक्ल द्वितीयामा छोरी, चेलीलाई घरमा बोलाएर दर खुवाइएको थियो । दोस्रो दिन भदौ २१ गते भाद्र शुक्ल तृतीयामा नीराहार व्रत बसी उमामहेश्वर पूजाआराधनासहित पारिवारिक कल्याणको कामना गरिएको थियो ।
तेस्रो दिन भदौ २२ गते अर्थात् भाद्र शुक्ल चतुर्थीका दिन हरितालिका व्रत समापन गरी भगवान् गणेशको पूजाआराधना गरिएको थियो ।
आज खोला, नदी, ताल, तलाउ, पोखरीमा गई अपामार्गले स्नान गरेर अरुन्धतीसहित सप्तऋषिको पूजाआराधना गरेपछि तीज समापन भएको हो । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।