राधिकाको हत्यारालाई सजाय घटाउन चलखेल भइरहेको पीडित परिवारको आरोप


     एभरेस्ट आवाज    
     असाेज ६ गते २०८१ मा प्रकाशित




पोखरा, असोज ६

पोखराका श्रीमती हत्याको अभियोग लागेका जहरसिंह कुँवरलाई उन्मुक्ति दिन खोजिएको पीडित परिवारले आरोप लगाएको छ । पीडित परिवारले व्यूटीपार्लर एशोसियसन गण्डकी, कास्की शाखा र लेखनाथ शाखाको आयोजनामा पोखरामा पत्रकार सम्मेलन गर्दै पद र पैसाको प्रभावमा पारेर श्रीमती हत्या अभियोग लागेका कुँवरलाई सजाय कम गर्न खोजेको आरोप लगाएको हो ।

कास्कीको अन्नपूर्ण गाउँपालिका–१ नौडाँडा घर भई हाल पोखरा–८ कुँवरटोलमा डेरागरी बस्ने अन्दाजी ४२ वर्षीय कुँवरले गत भदौ २६ गते आफ्नै श्रीमती ४० वर्षीया राधिका कुँवरका हत्या गरेका थिए । सम्बन्ध बिच्छेदको मुद्धा चलिरहेका बेला घर छाडेर निस्कन लागेकी श्रीमतीलाई उनले खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा कास्की प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

पीडित पक्षले अनुसन्धान प्रभावित पार्न पीडक पक्षले विभिन्न हर्कत गरिरहेको आरोप लगाएको छ । हत्या अभियोग लागेका जहरसिंह कुँवरका सहोदर माईला दाजु गमबहादुर कुँवरले पद र पावरको दुरुपयोग गरेर अनुसन्धान प्रभावित गर्ने प्रयास गरिरहेको उनीहरुको आरोप छ । सशस्त्र प्रहरीको प्रहरी नायव उपरीक्षक (डिएसपी)बाट अवकाश भएका गमबहादुरले आफ्नो पद र पावरको दुरुपयोग गर्दै हत्या अभियोग लागेका जहरसिंहलाई हुँदै नभएको मानसिक समस्या देखाएर सजाय कम गराउने प्रयास गरिरहेको मृतक राधिकाकी बहिनी मेनका थापाले बताईन् । हत्या भएकै दिनदेखि गमबहादुरले अनुसन्धान प्रभावित गर्न पीडित पक्षलाई कहिले धम्क्याउने त कहिले प्रमाण मेटाउने प्रयास गरिरहेको उनको आरोप छ ।

गमबहादुरलाई कुँवर दम्पतीबीचको झैझगडा पहिलेदेखि नै थाहा भएको तर मिलाउने कोशिष नगरेको मेनकाले बताईन् । मेरी दिदीले पटक÷पटक उहाँलगायत परिवारका सबैलाई झगडा मिलाईदिन हारगुहार गर्नुभयो,उनले भनिन्,‘तर कसैको सहयोग पाउनु भएन । बाँचुञ्जेलपनि अन्याय गरेको परिवारले अहिले मरेपछिपनि न्याय नदिन जालझेल र षडयन्त्र गरिरहेका छन् ।’ उनका अनुसार घटना भएको दिन गमबहादुरलाई आफूले तपाईंले पहिल्यै सम्झाएको भए यो दिन देख्नुपर्थेन नि ! भन्दा रिसाउँदै चर्कोचर्को स्वरमा ‘भयो त भयो, मैले के गर्न सक्छु र ?’ भनेका थिए । त्यसपछि त्यहाँ उपस्थित अन्यले पीडितलाई थप पीडा हुनेगरी किन बोलेको भन्न थालेपछि उनी त्यहाँबाट भागेको उनको दाबी छ । त्यतिमात्र होईन अन्त्येष्टिमापनि हतार गरेको उनले बताईन् । पोष्टमार्टमको भोलिपल्टमात्रै अन्त्येष्टि गर्ने सल्लाह भएको थियो,उनले भनिन्,तर राती नै हतारहतार अन्त्येष्टि गरे । यसले थप आशंका गर्न हामीलाई बाध्य बनायो ।’

कुवँर परिवारलाई प्रहरीकोपनि सहयोग रहेको हो कि भन्ने आशंका पीडित परिवारको छ । कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) मोहनकुमार थापाले हत्या अभियोग लागेका कुँवरले मानसिक औषधी सेवन गरेको भनेर प्रचार गरेका कारण यस्तो आशंकामा बल पुगेको मेनकाले बताईन् । हत्या अभियोग लागेका भिनाजु मानसिक समस्यामापनि हुनुहुन्थेन र मानसिक औषधीपनि खानुहुन्थेन,उनले भनिन्,‘तर एसपी थापाले मानसिक औषधी सेवन गर्नेगरेको भनेर प्रचार गर्नुभएको छ । यसले गर्दा कतै मानसिक समस्या देखाएर सजाय कम गर्ने प्रयासमा उहाँकोपनि समर्थन त होईन भन्ने आशंका हामीलाई लागेको छ ।’

जहरसिंहले राधिकालाई योजनाबद्ध हत्या गरेको पीडित परिवारको आरोप छ । उनले पहिलेदेखि नै हत्या गर्नेभन्दै धम्क्याउने गरेको, खुकुरी किनेर राखेको र छोरालाई आज तेरो आमाको हत्या गर्छु भनेर भनेको दाबी गरिन् । तेरो आमालाई आज काटिदिन्छु,मृतकका छोरालाई उद्धृत गर्दै उनले भनिन्,‘म दश वर्षपछि जेलबाट निस्केर आउँछु । तिमी म नहुँदा स्कुलबाट घर आउँदाजाँदा बाटो किनारकिनार जानु है ।’ छोराले बयानमा यो कुरा भनिसकेको र अहिलेपनि त्यो कुरा भन्ने गरेको उनले बताईन् ।

पीडित परिवारले हत्या अभियोग लागेका जहरसिंहलाई आजिवन कारावासको माग गरेका छन् । मानसिक रोगी भनेर सजाय कम नगरियोस्,मृतक राधिकाकी दिदी सीमा विष्टले भनिन्,‘मिल्छ भने संविधान संसोधन गरेर भएपनि फाँसी दिईयोस् । नभएपनि आजिवन कारावासको सजाय होस् ।’ उनले छोरालाई पीडक परिवारको जिम्मा दिन नसकिने भन्दै आफूसँग राख्न पाउनुपर्नेसमेत माग गरिन् ।

यसैबीच, व्यूटीपार्लर एशोसियसनले पीडित परिवारसँग मिलेर आईतबार जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गर्नुका साथै ज्ञापनपत्र बुझाएको छ । व्यूटीपार्लर एशोसियसन गण्डकी प्रदेश, कास्की शाखा र लेखनाथ शाखाले आईतबार जिल्ला प्रशासन कार्यालय कास्की कार्यालय अगाडि राधिकाका हत्यारालाई कारवाहीको माग गर्दै प्रदर्शन गरेका हुन् । साथै कास्कीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्रसमेत बुझाएको अभियानकी अभियन्ता चिनु गुरुङले जानकारी दिईन् । उनले भनिन्,‘दोषीमाथि कारवाही होस् । पद र पावरका आधारमा हत्यारालाई निर्दोष सावित गरेर नछाडियोस् भनेर दवाब दिन प्रदर्शनसहित ज्ञापन पत्र बुझाएका हौं ।’ मृतक राधिका व्यूटीपार्लर व्यवसायमा रहेको र उनको चरित्रसमेत सादा र सरल रहेको भन्दै गुरुङले उनको न्यायका लागि आवाज उठाएको स्पष्ट पारिन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।