पोखरामा फूल : मालाको १ सयदेखि १८० रुपैयाँ, थुङ्गाको ३–५ रुपैयाँ


     एभरेस्ट आवाज    
     कार्तिक १४ गते २०८१ मा प्रकाशित




पोखरामा लगाएको फूल टिप्दै एक महिला । फाईल तस्बिर

पोखरा, कात्तिक १४

यस वर्षको तिहारमा पोखरामा करीब साढे करोड रुपैयाँ बराबरको फूल आवश्यक पर्ने भएको छ । पोखरा र लेखनाथसहित नजिकका क्षेत्रमा साढे दुई करोडदेखि ३ करोड रुपैयाँ बराबरको तिहारे (सयपत्री) फूलको कारोबार हुने भएको हो । जसका लागि फूलको जोहो भइसकेको फ्लोरिकल्चर एशोसियसन नेपाल कास्की शाखाले जनाएको छ । ‘तिहारका लागि सयपत्री, मखमली र गोदावरी फूलको जोहो गरेका छौं’–एशोसियसनका कास्की अध्यक्ष रामप्रसाद सुवेदीले भने ।

तिहारका लागि पोखरामा आवश्यक फूल स्थानिय उत्पादनले धान्छ । स्थानिय उत्पादनले धान्ने फूलको बजार पोखरा एक्लैले भने धान्दैन । यहाँ खपत हुने फुल धादिङ, गोरखा, लमजुङलगायतका छिमेकी जिल्लाबाट आयात हुने गरेको अध्यक्ष सुवेदीले बताए ।

पोखरामा खपत हुने फुल मध्ये ८० प्रतिशत किसान (सिजनल व्यवसायी)ले उत्पादन गर्दछन् भने बाँकी २० प्रतिशत पुष्प ब्यबसायीले उत्पादन गर्नेगरेका छन् । एशोसियसनका पूर्व अध्यक्ष दयाकुमार द्वाका अनुसार तिहारमा पुष्प व्यवसायीले ५० लाख बराबरको फूल बेच्छन् भने सिजनल व्यापारीले २ करोड बढी बेच्ने गरेका छन् ।

मालाको १५०, थुङ्गाको ५ रुपैयाँ

यस वर्ष फुलको मालाको मूल्य ३ फरक दर कायम गरिएको छ । सानो थुङ्गाको मालाको मूल्य एक सय रुपैयाँ, मध्यमस्तरको थुङ्गाको माला १५० रुपैयाँ र ठूलो थुङ्गाको मालाको मूल्य १८० रुपैयाँ कायम गरिएको अध्यक्ष सुवेदीले जानकारी दिए । फुलको एउटा थुङ्गाको मूल्य ३ देखि ५ रुपैयाँ निर्धारण गरिएको उनले बताए । एउटा मालामा नेपाली फुल २८ देखी ३० थुङ्गा उनिने भएकाले त्यसको मालाको मूल्य एक सय रुपैयाँदेखि १८० रुपैयाँसम्म पर्ने उनको भनाई छ । थुङ्गाको ३ देखि ५ रुपैयाँ तोकिएपनि भाईटीकाको दिन र त्यसको अघिल्लो दिन १० देखि २० रुपैयाँसम्म पुग्ने गर्दछ । जसका कारण आफूहरु ठगिनेगरेको उपभोक्ताको गुनासो बारम्बार आउने गरेको छ ।

पोखरामा भारतीय फूलको माला प्रतिबन्ध छ । तर तिहारमा मात्रै अनुगमन हुने भएकाले अन्य समयमा भारतीय फूलको माला बिक्रीहुँदै आएको छ । तर तिहारमा भने अनुगमनका कारण नभित्रिने दाबी गरिन्छ । यद्वपी लुकीछिपी ल्याएरपनि बेचेको भने पाईन्छ ।

एशोसियसनले तिहारमा पोखरामा उत्पादित फूलको माला नै दाजुभाईलाई लगाई दिन आग्रह गरेको छ । एशोसियसनका पूर्व अध्यक्ष दयाकुमार द्वाले नेपाली सयपत्री फूल हेर्दै आकर्षक र ताजा हुने भएकाले पोखरामै उत्पादन भएको फूलको माला प्रयोग गर्न आग्रह गरे । उनले भने,‘भारतबाट आयातित फूलको थुंगा सानो हुन्छ र मालापनि मसिनो देखिनुका साथै ताजा पनि हुँदैन, तर यहिं उत्पादन भएको फूल हेर्दै आकर्षक र ताजा हुन्छ, मालाले पनि गला भरिन्छ ।’ उनले अरु बेला जुनसुकै फूल प्रयोग गरेपनि तिहारमा दाजुभाईको गलामा स्थानिय फूलकै माला प्रयोग गर्दा हेर्दापनि राम्रो र नेपाली दाजुभाई दिदीबहिनीले उत्पादन गरको माला लगाउँदा गर्वपनि महशुष हुने उल्लेख गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।