आहा ! रारा पोखरा गोल्डकप पोखरामा शुरु, उद्घाटन खेलमा पुलिस बिजयी


     एभरेस्ट आवाज    
     माघ २२ गते २०८१ मा प्रकाशित




पोखरा, माघ २२

पोखरामा आहा ! रारा पोखरा गोल्डकप शुरु भएको छ । सहरा क्लव पोखराको आयोजनामा पोखरा रंगशालामा मंगलबारदेखि आहा ! रारा पोखरा गोल्डकपको २४ औं श्रृङ्खला शुरु भएको हो । प्रतियोगिताको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरे ।

प्रतियोगिताको उद्घाटन खेलमा नेपाल प्रहरीको नेपाल पुलिस क्लव बिजयी भएको छ । पुलिसले आयोजक सहारा क्लवलाई १–० गोल अन्तरले पराजित गर्दै बिजयी यात्रा शुरु गरेको हो । जितसँगै पुलिस आहा ! रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

उद्घाटन खेलको निर्णायक गोल पुलिसका उज्वल राईले गरे । उनले खेलको ३६ औं मिनेटमा गोल गर्दै पुलिसलाई बिजयी बनाए । उनले हानेको कर्नर किक सिधै गोलमा परिणत भएको थियो । सेकेण्ड बार च्यापेर हानेको बलले सिधै जाली चुमेर त्यहि गोल नै निर्णायक बनेपछि आयोजक सहारा पहिलो खेलबाटै प्रतियोगिताबाट बाहिरिएको छ ।

पहिलो हाफको शुरुवाती समय सहाराले पुलिसलाई दबाबमा राखेको थियो । तर ३६ औं मिनेटमा गोल खाएपछि भने लय गुमाउन पुग्दा हारबाट जोगिन सकेन ।

मंगलबारको बिजेता पुलिसले अब माघ २६ गते ब्रिगेड ब्वाईज क्लब युकेसँग खेल्नेछ । प्रतियोगिता अन्तर्गत बुधबार सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब र मछिन्द्र क्लब आमनेसामने हुनेछन् ।

मंगलबारदेखि शुरु भई फागुन ३ गतेसम्म हुने प्रतियोगितामा ३ विदेशीसहित १२ टिम सहभागी छन् ।

सनिशलाई उत्कृष्ट खेलाडी सम्मान

सहारा क्लव पोखराले नेपाली राष्ट्रिय टिम तथा मछिन्द्र क्लबका डिफेन्डर सनिश श्रेष्ठलाई सम्मान गरेको छ । सहारा क्लबले २४औं आहा रारा पोखरा गोल्डकपको उद्घाटनको अवसरमा सनिशलाई नगद ५० हजार ५ सय ५५ रुपैयाँसहित उत्कृष्ट वर्ष खेलाडी सम्मानबाट सम्मान गरेको हो ।

सहाराले हरेक वर्ष नेपाली फुटबल क्षेत्रमा उत्कृष्ट योगदान दिएकामध्ये एक जनालाई राष्ट्रिय टोलीको फुटबल खेलाडीलाई सम्मान गर्दै आएको छ ।

प्रतियोगिताको बिजेताले ट्रफीसहित नगद १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई स्कुटरसहित विभिन्न विधागत पुरस्कार प्रदान गरिने क्लवका अध्यक्ष केशवराज बरालले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।