पोखरेली कवि प्रदीप खनालको ‘अनन्त यात्रा’ कविता संग्रह लोकार्पण


     एभरेस्ट आवाज    
     माघ २६ गते २०८१ मा प्रकाशित




पोखरा, माघ २६

पोखरेली कवि प्रदीप खनालको ‘अनन्त यात्रा’ कविता संग्रह लोकार्पण गरिएको छ । पोखरेली युवा सांस्कृतिक परिवार (पोयुसाँप)द्वारा शनिबार प्रतिभा माविको सभाहलमा आयोजित कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपती एवम् बरिष्ठ साहित्यकार सरुभक्त, पोयुसाँप अध्यक्ष रिता अधिकारी (ऋतु), श्रष्टा तथा कवि प्रदीप खनाल, प्रतिभा माविका प्राचार्य किरण सापकोटा, प्रतिभा मावि ब्यबस्थापन समितिका अध्यक्ष नारायणप्रसाद पौडेल र श्रष्टा प्रदीप खनालका पीता लोकनाथ खनालले एकसाथ कविता संग्रहको लोकार्पण गरेका हुन् । कविता संग्रहमा कुल ४१ वटा कविताहरु संगहित रहेको श्रष्टा एवम् कवि प्रदीप खनालले जानकारी दिए । कविता संग्रहको मूल्य २ सय ५० रुपैयाँ तोकिएको छ । तर लोकार्पण कार्यक्रमको अवसरमा शनिबार भने २ सय रुपैयाँमै प्रदान गरिएको थियो । श्रष्टा एवम् कवि खनाल प्रतिभा माविका सह-प्राचार्य हुन् ।

लोकार्पण कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपती सरुभक्तले कवि खनालको ‘अनन्त यात्रा’ कविताले समाज बोलेको बताए । राजनीतिको झोले बनिरहेको समाजमा कवि खनालले सचेततापूर्वक विद्रोह गरेको भन्दै उनले भने,‘उनको कवितामा बैचारिक कायाकल्प छ ।’

कविता संग्रह ‘अनन्त यात्रा’को समीक्षक प्रमिला आचार्य शर्माले कवि खनालको कविता अन्तरमनमा स्पर्ष गर्ने खालको भएको बताईन् । हरेक कविता पाठकले आफूसँग रिलेट गर्नसक्ने भन्दै उनले अगाडि थपिन्,‘कवितामा आमाको समर्पण, बुबाले जिम्मेवारी बहन गर्न गरेको त्याग, निम्न वर्गियले भोग्नुपरेको प्रताडना, राजनीतिको झोलेवादी संस्कृतिप्रति विद्रोहको भावना झल्केको छ ।’

प्रतिभा मावि व्यवस्थापन समिति अध्यक्ष नारायणप्रसाद पौडेलले कवि खनालको कविताले समाज सुधारको आह्वान गरेको बताए ।

प्रतिभा माविका प्राचार्य किरण सापकोटाले कवि खनालको कविताले ह्रदय छुने बताए ।

पोयुसाँपका पूर्व अध्यक्ष जीवनसागर भण्डारीले श्रष्टा परिचय गराएको कार्यक्रममा कविहरु मणीप्रसाद डुम्रे, विपी लम्साल, केशु शर्मा र श्रष्टा एवम् कवि प्रदीप खनालले ‘अनन्त यात्रा’ कविता संग्रह भित्रका कविताहरु वाचन गरेका थिए ।

पोयुसाँपका अध्यक्ष रिता अधिकारी (ऋतु)को अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष लक्ष्मण थापाले स्वागत गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।