मणिपाल मेडिकल कलेजले भित्रायो एडभान्स ह्यूमन डिसेक्सन टेबल ‘क्याडाविज’


     एभरेस्ट आवाज    
     चैत्र ११ गते २०८१ मा प्रकाशित




पोखरा, चैत १०

पोखरामा रहेको नेपालकै चर्चित मणिपाल मेडिकल कलेजले एडभान्स ह्यूमन डिसेक्सन टेबल ‘क्याडाविज’ भित्राएको छ । चिकित्सा शिक्षा अध्ययन गरिरहेका विद्यार्थीलाई अध्ययनमा सहजता मिलोस् भन्ने उद्देश्यले कलेजले मानिसको शरिरका अंगहरु काटेर हेर्न मिल्ने थ्री डी ईम्याजिनेसनमा आधारित ‘क्याडाविज’ भित्राएको हो । यस्तो मेसिन नेपालमै पहिलोपटक मेडिकल कलेजले भित्राएको मणिपाल शिक्षण अस्पतालका अध्यक्ष आनन्दराज बतासले दाबी गरे ।

यो मेसिन भित्रिएपछि चिकित्सा शिक्षा अध्ययन गरिरहेका एमबिबिएस, नर्सिङ, पारा मेडिकल, बिएससी एमएमटी, बिएससी एमआईटीलगायतका विद्यार्थी लाभान्वित हुने कलेजकी एन्टोनोमी विभाग प्रमुख चक्षु भट्टराईले बताईन् । उनका अनुसार यसअघि कलेजमा मानिसको मृत शरिर डिसेक्सन गरेर (काटेर) विद्यार्थीले मानिसको शरिरको भित्री प्रणाली (ईन्टरनल फिजियोलोजी सिस्टम)बारे अध्ययन गर्नेगरेका थिए । ईन्ष्टिच्यूट अफ मेडिसिन महाराजगञ्जबाट किनेर ल्याइएको लाश चिरफार गरेर विद्यार्थीले अध्ययन गर्थे,उनले भनिन्,‘अब यो मेसिन आएपछि विद्यार्थीले थ्री डी एनिमेसनमार्फत मानिसको शरिरको सम्पूर्ण अंगहरु एक÷एक गरेर काट्दै त्यसको अध्ययन गर्न सक्नेछन् ।’

क्याडाविजमार्फत विद्यार्थीले मुटुले कसरी पम्प गर्छ ? हात कसरी चल्छ ? खुट्टा कसरी चल्छ ? ब्लड कसरी सर्कुलेसन हुन्छ ?लगायतका सम्पूर्ण शरिरका अंगहरुको अध्ययन गर्न पाउनेछन् । अहिलेसम्म हामीले मानिसको मृत शरिर टाउकोदेखि खुट्टासम्म काटेरै देखाउने र बुझाउने गरिन्थ्यो,प्रमुख भट्टराईले भनिन्,‘अबपनि विद्यार्थीलाई त्यसरी नै मान्छेको शरिर काटेरपनि अध्ययन÷अध्यापन गर्छौं । तर सँगसँगै थ्री डी एनिमेसनमार्फतपनि मान्छेको शरिर जहाँ मन लाग्यो त्यहाँ काटेर शरिरको बनोट, शारिरिक प्रणालीलगायतबारे पढाउँछौं ।’

थ्री डी एनिमेसन टेबलको प्रयोगमार्फत विद्यार्थीले आफैले छोएर मानिसको शरिरको कुन भाग काटेर हेर्न मन छ त्यो भाग काटेर हेर्ने, भेसल्स, नर्भ, बोनहरु, मसलहरु कसरी शरिरमा बसेको छ त्यो डिसेक्सन गरेर हेर्नसक्ने प्रशासन प्रमुख सुनिल नायरले जानकारी दिए । ‘मान्छेको शरिर काटेर गरिने डिसेक्सन विद्यार्थीले बिर्सिने तर यो जतिपटकपनि काटेरपनि हेर्न सकिने भएकाले आफूलाई मनलागेसम्म गरिरहन पाउने भएकाले सम्झन सजिलो हुन्छ’–उनले भने ।

क्याडाविजले गुणस्तरीय शिक्षाका लागि महत्वपूर्ण योगदान पु¥याउने कलेले जनाएको छ ।

यसैबीच, क्याडाविजको गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले उद्घाटनसमेत गरेका छन् । कलेजमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारले गर्नुपर्ने काम नीजि क्षेत्रले गरिरहेको भन्दै धन्यवाद दिए । गण्डकी प्रदेशका लागि आवश्यक चिकित्सक र नर्स यहिंबाट उत्पादन गर्नुपर्ने भन्दै त्यसका लागि प्रदेश सरकारले सघाउनेपनि उनले प्रतिबद्धता जनाए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।