पोखरा । पोखरा महानगरपालिका समाजिक विकास महाशाखाको सहयोग तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको आयोजनामा पोखरा महानगरपालिका–१६, दिपमा मानव अधिकार सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका–१६ का वडाध्यक्ष अमृत तिमिल्सिनाले मानव अधिकार हरेक नागरिकका लागि जान्नुपर्ने विषय भएको उल्लेख गर्दै अधिकारबारे जानकारी नहुँदा त्यसको उपभोगबाट वञ्चित हुनुपर्ने अवस्था सिर्जना हुने बताए। उनले अधिकारसँगै कर्तव्य पालनाको महत्त्वलाई जोड दिँदै कर्तव्य नबुझ्दा नै मानव अधिकार हनन हुने अवस्था आउने बताए। वडाध्यक्ष तिमिल्सिनाले नागरिकलाई अधिकार र कर्तव्यबारे सचेत गराउन राज्यकै दायित्व रहेको उल्लेख गर्दै महानगरपालिकाले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको बताए।
कार्यक्रमका अतिथि पोखरा महानगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत जिवन प्रसाद रेग्मीले मानव अधिकारको सन्देश घरघरमा पुर्याउनु आवश्यक रहेको बताउँदै यसका लागि सबैले आ–आफ्नो स्थानबाट योगदान गर्नुपर्ने धारणा राखे। शिक्षाविद् अनन्त लम्सालले शिक्षा प्राप्त गर्नु सबैको अधिकार रहेको भन्दै शिक्षा विना मुलुकको विकास सम्भव नभएको र अभिभावकहरूले आफ्नो सन्तानलाई अनिवार्य रूपमा विद्यालय पठाउनुपर्ने कुरामा जोड दिए।
राधाकृष्ण गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दिव्यज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक लक्ष्मी खनाल, अधिकारकर्मी टेकनाथ आचार्यलगायतले मानव अधिकारको महत्त्वबारे बोलेका थिए। कार्यक्रममा इन्सेकका संयोजक शिव प्रसाद खकुरेलले मानव अधिकार, मानव अधिकार एलायन्सकी केन्द्रीय सदस्य महिला अधिकारकर्मी सवनम शर्माले महिला अधिकार, तथा जिल्ला प्रहरी कार्यालय मातहतको बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रकी प्रमुख सरना ढकालले लैंगिक हिंसा र कानुनी उपचारबारे सहजीकरण गरेका थिए।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार १पोखरामा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।…







