बड्स एकेडेमीमा पुरस्कार वितरण


     एभरेस्ट आवाज    
     चैत्र २० गते २०८१ मा प्रकाशित




पोखरा । पोखरा महानगरपालिका वडा नं ६ लेकसाइकडस्थित बड्स एकेडेमीको दुई दिवसीय पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको पहिलो दिन नर्सरीदेखि कक्षा ३ सम्म र दोस्रो दिन कक्षा ४ देखि ९ सम्मका विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो ।

कार्यक्रममा हस्तलेखन, नेपाली विषयमा उत्कृष्ट, स्पेलिङ कन्टेष्टलगायतका गतिविधिमा उत्ृकष्ट हुने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । यस्तै २०८० को विभिन्न खेल गतिविधिमा उत्कृष्ट हुन सफल विद्यार्थीलाई ट्रफी र मेडलसहित पुरस्कृत गरिएको थियो । साथै रेड हाउस सदन विद्यालयको बोर्ड प्रस्तुतिकरणमा प्रथम भएकोमा पुरस्कृत गरिएको थियो ।

यसैगरी एनव्याव्सन टिटी खेलमा प्रथम हुने छात्रतर्फ विवेक गिरी र सुप्रिम देवकोटा तथा छात्रातर्फ पूजा वाग्ले र सभ्यता पौडेललाई नगदसहित पुरस्कृत गरिएको विद्यालयका प्राचार्य प्रकाशराज वाग्लेले जानकारी दिए । यस्तै २०८० को एसईईमा एनव्याव्सन कास्कीमा प्रथम स्थान हासिल गर्ने विद्यालयकी विमला पौडेलाई नगदसहित पुरस्कृत गरिएको थियो ।

पौडेल २०८० को एसईई परीक्षामा एनप्याव्सनमा छात्रातर्फ सर्वोत्कृष्ट बनेर सम्मानित भइन् । पौडेलले एसईई परीक्षामा ३दशमलव९६ अंक प्राप्त गरेर सर्वोत्कृष्ट बनेकी थिइन् । एसईईमा उत्कृष्ट बड्स एकेडेमीलाई एनप्याव्सन कास्कीले सम्मानसमेत गरेको थियो ।

साथै २०८० को कक्षा ८ को परीक्षामा ४ जिपिए हासिल गर्ने पूजा वाग्ले, सभ्यता पौडेल, दीपलक्ष्या सुनार र नीरु कुँवरलाई पनि पुरस्कृत गरिएको प्राचार्य वाग्लेले बताए । उनका अनुसार विद्यालयका सहायक प्राचार्य विष्णुहरि देवकोटा र शैक्षिक विभाग प्रमुख गीता डुम्रे भण्डारीलाई दीर्घसेवा सम्मान गरिएको थियो ।

विद्यार्थीले गीत, नृत्यलगायतका विभिन्न सांगीतिक र मनोरञ्जनात्मक प्रस्तुति राखेका थिए । पहिलो दिनको कार्यक्रम उद्घाटन गर्दै समाजसेवी एवं शिक्षासेवी नरेन्द्रमान लालचनले बड्स एकेडेमी पोखराको उत्कृष्ट विद्यालय भएको भन्दै अबको शिक्षा व्यवहारिक हुनुपर्ने खाँचो औंल्याए । उनले अबको देशका लागि आवश्यक जनशक्ति उत्पादन गर्न सक्नुपर्ने स्पष्ट पारे ।

समापन कार्यक्रम उद्घाटन गर्दै पोखरा महानरका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले शैक्षिक मात्र होइन हरेक विधानमा बड्स उत्कृष्ट रहेको बताए । उनले विद्यार्थीले आफ्नो दीर्घकालीन भविष्य सोचेर अध्ययन गर्नुपर्नेमा जोड दिए ।
विद्यालयले हरेक वर्ष शैक्षिक नतिजालगायत अन्य गतिविधि सुधार गर्दै अघि बढेको भन्दै आचार्यले आगामी दिनमा थप उन्नतिको कामना गरे ।

बड्स पोखराकै प्रतिष्ठित शैक्षिक संस्था भएको भन्दै आफ्नो गरिमालाई कायम राख्न विशेष ध्यान दिन आग्रह गरे ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (एनप्याव्सन) कास्कीका अध्यक्ष हेमन्त अधिकारीले बड्स एकेडेमी पोखराका अब्बलमध्येको एक शैक्षिक संस्था भएको बताए ।

गत वर्षको एसईईमा बड्सकै बिमला पौडेलले उत्कृष्ट अंक हासिल गरी एनप्याव्सनबाट उनीसहित विद्यालय नै सम्मानित भएको स्मरण गर्दै उनले आगामी दिनमा पनि उत्कृष्ट हुने विश्वास व्यक्त गरे ।अधिकारीले विद्यार्थी पौडेललाई आगामी दिनमा के कस्तो सहयोग गर्न सकिन्छ त्यसमा सिंगो एनप्याव्सन तयार रहेको स्पष्ट पारे । उनले विद्यार्थीलाई समयले माग गरेको सीपयुक्त शिक्षा प्रदान गर्नु नै अहिलेको आवश्यकता भएको बताए ।

विद्यालय व्यवस्थापन समितिकाा निवर्तमान अध्यक्ष जगत पहारीले सबैको मेहनतले विद्यालय उत्कृष्ट भएकोमा निकै खुसी लागेको बताए ।

विद्यालयका प्राचार्य वाग्लेले सिक्ने र सिकाउने थलोका रुपमा विद्यालय भएकाले आफूहरुले सोही प्रकारको वातावरण सिर्जना गरेका बताए । विद्यालयलाई उत्कृष्ट बनाउन र विद्यार्थीलाई धेरै भन्दा धेरै ज्ञान दिलाउन सक्दो प्रयत्न गर्ने उनले प्रतिवद्दता जनाए ।
वाग्लेले विद्यालय यो स्थानसम्म आउनुमा सञ्चालक समिति, शिक्षक, शिक्षिका, विद्यार्थी, अभिभावक, कर्माचारीको महत्वपूर्ण भूमिका रहेको बताए । उनले विद्यार्थीलाई समय परिवेश अनुसार गुणस्तरीय र प्रविधि तथा सीपयुक्त शिक्षा प्रदान गर्न विद्यालयले कुनै कसुर बाँकी नराख्ने स्पष्ट पारे ।

प्राचार्य वाग्लेले एकेडेमीले अन्तर्राष्ट्रिय स्तरको बाल मनोविज्ञानमा आधारित शिक्षण विधि अबलम्बन गर्दै आएको बताए ।
साथै विद्यालयले विद्यार्थीको सर्वाङ्गिण विकास ध्यानमा राख्दै सीबीएलसँग सहकार्य गरेर उच्च स्तरीय शिक्षण विधिको प्रयोग गरिएको उनले जानकारी दिए ।

अभिभावक गीता खत्रीले बड्स गत वर्षको एसईईमा उत्कृष्ट भएकोमा खुशी व्यक्त गर्दै आगामी वर्षमा पनि अझै उत्कृष्ट हुनुपर्नेमा जोड दिइन् । विद्यालय व्यवस्थापन समिति अध्यक्ष मेहरमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पहिलो दिन प्राथमिक तह संयोजक मीना श्रेष्ठ र दोस्रो दिन प्रशासक एवं कार्यक्रम संयोजक ध्रुव पोखरेलले स्वागत गरेका थिए ।

दुवै दिनको कार्यक्रम सञ्चालन शैक्षिक विभाग प्रमुख गीता डुम्रे भण्डारीले गरेकी थिइन् । २०६२ सालमा स्थापित बड्स एकेडेमीमा चार सय ५० जना विद्यार्थी अध्ययनरत छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।