पोखरा, चैत ३०
गणित विषयमा अनुसन्धान गर्नका लागि गणित समाज गण्डकीले लघुअनुसन्धान वृत्ति प्रदान गर्न थालेको छ । गतवर्षका अनुसन्धानकर्ताले हालैमात्र अनुसन्धान पुरा गरेका छन् । यो वर्षका लागि प्रस्ताव आव्हान गरिएको छ ।
गणित समाज गण्डकीका अध्यक्ष डा. त्रिभुवन शर्माका अनुसार गणित विषयमा विद्यार्थीलाई र शिक्षकलाई अनुसन्धानमा आकर्षित गराउनका लागि लघुअनुसन्धान वृत्ति प्रदान गर्न थालिएको हो । ‘गणित समाजले हरेक वर्ष गण्डकीका दुइजनालाई यो वृत्ति प्रदान गर्दै आएको छ,’ उनले भने, ‘अहिलेसम्म चारजनाले यो वृत्तिको रकम पाएका छन् । आगामि वर्षका लागि अहिले नै प्रस्तावना माग गरिएको छ ।’
अघिल्लो वर्षको अनुसन्धान पुरा गरेका माधवप्रसाद पौडेल र बद्रीप्रसाद पंगेनीले हालैमात्र आफ्नो अनुसन्धानलाई पुरा गरेका छन् । उनीहरुले पुरा गरेको अनुसन्धानलाई हालै सार्वजनिक गरिएको थियो । पौडेलले ‘नलीभित्र बगिरहेको तरलमा तापक्रमको असरले वेगमा पार्ने प्रभाव’ र पंगेनीले ‘खर्च न्यूनिकरण प्रवाह मोडलमा क्वान्टम क्यालकुलस’ शीर्षकमा अध्ययन पुरा गरेका थिए ।
समाजका अध्यक्ष बरालले गणित विषयमा अनुसन्धानमा आकर्षण गर्न जरुरी रहेको बताए । ‘हामीले हरेक वर्ष कम्तिमा दुइवटा नयाँ अनुसन्धान बाहिर ल्याउन सकियो भने पनि यसले शैक्षिक क्षेत्रमा नयाँपन दिनेछ,’ उनले भने, ‘गणित क्षेत्रमा अनुसन्धान आवश्यक छ ।’
अनुसन्धानकर्ताहरुले तयार पारेको उक्त अनुसन्धानलाई सार्वजनिक गर्ने कार्यक्रममा विषयविज्ञको रुपमा सहप्राध्यापक डा. इश्वरमणि अधिकारी थिए । पृथ्वीनारायण क्याम्पसमा आयोजित कार्यक्रममा समाजका सचिव विश्वराज अधिकारी, पूर्व विभागीय प्रमुख राजेन्द्र रेग्मी सहित स्नातक तहमा विज्ञान संकायमा अध्ययनरत विद्यार्थीहरु सहभागि थिए ।
पृथ्वीनारायण क्याम्पसमा आयोजित कार्यक्रममा गणितका विषयमा गरिएको अनुसन्धान सार्वजनिक गरेपछि सामुहिक तस्बिर खिचाउँदै ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ ।…







