जेन्जी आन्दोलनमा पोखरामा गोली लागेर घाइते लक्ष्मण नेपाली आईसीयुमा, अवस्था दिनानुदिन जटिल


     एभरेस्ट आवाज    
     असाेज ७ गते २०८२ मा प्रकाशित




पोखरा । भदौ २४ गते जेन्जी आन्दोलनको दोस्रो दिन गोली लागेर गम्भीर घाइते भएका १८ वर्षीय लक्ष्मण नेपाली अहिले पनि गण्डकी अस्पताल (पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान प.क्षे.अस्पताल) को आईसीयुमा उपचाररत छन्। घाँटीमा पाता राखिएको उनको अवस्था दिनानुदिन जटिल बन्दै गएको चिकित्सकहरूले जनाएका छन्।

जेन्जी आन्दोलनको दोस्रो दिन भदौ २४ गते साँझ ६:३० बजे गैर्हापाटनस्थित जिल्ला प्रहरी कार्यालयको गेट अगाडि आन्दोलनकारी भिडिरहेको समयमा गोली लाग्दा नेपाली ढलेका थिए। केही बेरपछि प्रहरीले नै गेट खोलेर उनलाई भित्र तानेका र लाठीचार्जसमेत भएको प्रत्यक्षदर्शीले बताएका छन्।

घाइतेलाई गण्डकी अस्पतालको एम्बुलेन्सले तत्कालै इमर्जेन्सीमा पुर्याएको थियो। प्रारम्भिक उपचारपछि चिकित्सकले गोली चौथो र पाँचौं नशाको बीचमा अड्किएको बताएका थिए। तत्काल अपरेसन गर्न नसकिएको भए पनि भदौ २९ गते राति गोली निकालिएको हो।

अपरेसनपछि लक्ष्मण नेपालीको हातखुट्टा नचल्ने अवस्था आएको छ। स्वरसमेत नआएको परिवारको भनाइ छ। घाँटीमा पाता राखिएको र दीर्घकालीन रूपमा मेरुदण्डको असर गम्भीर रहने सम्भावना रहेको बताइएको छ।

लक्ष्मण नेपाली हाल आईसीयुमा नै उपचाररत छन्। अस्पतालमा खर्च बढ्दो भए पनि परिवारले अहिलेसम्म सम्पूर्ण लागत व्यहोर्न नसकेको जनाएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।