नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा रहेका माओवादी केन्द्रका नेता एवं पूर्वसभामुख कृष्णबहादुर महरा माथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान नरोकिने भएको छ ।
सीआईबीले पुनः पक्राउ गरी सुन तस्करी प्रकरणमा अनुसन्धान अघि बढाए पनि अख्तियारले महरामाथि चलाउन लागेको मुद्दाको प्रक्रिया भने नरोकिने स्रोतले बताएको छ । ‘सीआईबीले भन्सार छली र संगठित अपराधको कसुरमा अनुसन्धान गर्न लागेको हो,’अख्तियार स्रोतले भन्योे, ‘यताबाट भ्रष्टाचार मुद्दा चल्ने हो। सार्वजनिक पदाधिकारी भएर तस्करीको सुन छुटाउन पदीय हैसियतको दुरुपयोग गरेको देखिन्छ।’ अनुसन्धानको प्रक्रिया अन्तिम चरणमा पुगेको र अब चाँडै नै मुद्दा अदालतमा जाने ती अधिकारीको भनाइ छ।
सीआईबीले महरालाई आइतबार पक्राउ गरी भन्सार छली तथा संगठित अपराधको कसुरमा अनुसन्धान अघि बढाएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसै प्रकरणमा बयान लिएको केही दिनमै महरा सीआईबीको हिरासतमा पुगेका हुन्।रोल्पा घर भएका ६८ वर्षीय महरालाई सीआईबीले करिब तीन वर्ष पहिले भेपमार्फत भएको सुन तस्करी प्रकरणसँग जोडेको छ । ०७९ पुस १० गते फ्लाई दुबईको जहाजमार्फत नेपाल आएका चिनियाँ नागरिक लि हानसोङले २ वटा सुटकेसभित्र ७३ बट्टामा रहेको ७३० वटा विद्युतीय चुरोट (भेप) मा लुकाएर अवैध रूपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपालमा सुन भित्र्याएको प्रकरणमा महरा जोडिएका हुन्।
अब उनीमाथि मुख्यगरी तीन वटा कसुरमा अनुसन्धान हुनेछ । जसमा भन्सार ऐन, २०६४ अन्तर्गतको कसुर, आपराधिक लाभसम्बन्धी कसुर र संगठित अपराधको कसुरमा अनुसन्धान हुने सीआईबीका प्रवक्ता तथा एसएसपी शिवकुमार श्रेष्ठ बताउँछन् ।यही घटनामा यसअघि महरालाई सीआईबीले नै ५ चैत २०८० मा कपिलवस्तुबाट पक्राउ गरेको थियो । त्यतिबेला भने उनी पक्राउ परेको ५ दिनमै ९ चैतमा छुटेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार २०८२ बाट पत्रकार राम थापालाई सम्मान गरिने भएको…







