यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन आज भाइटीका मनार्इएको छ ।
आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाएका छन् । आज दिनभर टीका लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः३९ बजेको अभिजित् मुहूर्तको समयमा टीका लगाईएको हो ।आजको दिनलाई यमद्वितीया पनि भनिन्छ । यमपञ्चकसमेत भनिने तिहार पाँच दिनको हुने भए पनि यस वर्ष तिथि वृद्धि भई छैटौँ दिनमा भाइटीका परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए ।
आज लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवता, नवग्रहको समेत पूजाआराधना गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरीलगायत फूलका माला लगाइदिने गरिन्छ । तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको धर्मशास्त्रविद् भट्टराईले सुनाए ।
टीका लगाएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मसला एवं सेलरोटीलगायत खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ ।
भाइटीकाका दिन आज काठमाडौँको ऐतिहासिक रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरमा दिदीबहिनी नहुने दाजुभाइले टीका लगाउँदै आपसी माया, स्नेह र आस्थाको पर्व मनाएका छन् । बालगोपालेश्वर मन्दिर आज बिहानैदेखि नै सर्वसाधारणका लागि खोलिएको थियो । मन्दिरमा रहेका पुजारी भेमब कोइरालाले दिउँसोसम्म करिब १ हजार ५ सय जनाले टीका लगाइसकेको बताए ।
परम्पराअनुसार यो मन्दिर वर्षमा एक दिन भाइटीकाको अवसरमा मात्र खोलिने गरिन्छ । बिहान सबेरैदेखि दर्शनार्थीहरूको घुइँचो लागेपछि बालगोपालेश्वर मन्दिरमा आज विशेष चहलपहल देखिएको थियो । दिदीबहिनी वा दाजुभाइ नहुनेले यस मन्दिरमा गएर भगवान् बालगोपालेश्वरको दर्शन गरी टीका लगाउने चलन निकै पुरानो र सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिन्छ । यो परम्परा आफ्ना नजिकका दाजुभाइ वा दिदीबहिनी नभएकाले पनि तिहारको मुख्य पर्वको मर्म अनुभव गर्न सकून् भन्ने मान्यताका साथ प्रारम्भ भएको हो । मन्दिरमा पुगेका भक्तजनहरूले फूल, माला, अक्षता, रङ् र मिठाई चढाई भगवान् बालगोपालेश्वरको आराधना गरे थिए। परम्परागत विधिअनुसार पञ्चरङ्गी र सप्तरङ्गी टीका लगाए । टीका लगाइसकेपछि श्रद्धालुहरूले एकअर्कालाई शुभकामना साटासाट गर्दै दीर्घायु, आरोग्य र समृद्धिको कामना गरे ।
भाइटीकाको दिन दिदीबहिनीहरूले आफ्ना दाजुभाइको दीर्घायु र कल्याणको कामना गर्दै टीका लगाउने चलन छ । दाजुभाइले पनि दिदीबहिनीलाई उपहार र आशीर्वाद दिने परम्परा रहिआएको छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सही नीति र विचारका आधारमा…







