पर्यटकीय संरचना बनाउन सकिने गारतरो क्षेत्र


     रामबहादुर बाँनिया    
     कार्तिक १३ गते २०८२ मा प्रकाशित




सेती ड्यामसँगैको गारतरो र कसेरी,हामीले समय बिताउने,बयँर टिपेर खाने ठाउँ।

मंसिर मासमा प्रशस्त बयँर पाक्दथे र हामी टिपेर खान्थ्यौं,गोजि भरेर ल्याउँथ्यौं। काँडाले हात छिया छिया पार्थ्यो। अमिलोले दाँत कुँडिन्थ्यो र मकै चपाउन गाह्रो हुन्थ्यो। ठूलो ढुङ्गामाथि बसेर सुस्ताउँथ्यौं,लुकिडुम खेल्थ्यौं।बस्ती थिएन वरीपरी, चारैतिर खुला थियो ।कहिलेकाही आमाहरूले भन्नुहुन्थ्यो होसियार हुनु नी,बयँरकौ घारीमा भालु लुकेको हुन्छ अर्थात बयँरको पारखी भालु पनि रहेछ । ठूलो ढुङ्गा,सायद भिमकाली पाटनको भिमढुङ्गा पछिको पोखराकै दोश्रो ठूलो ढुङ्गा यहि हुनुपर्छ। यसलाई पनि फोड्ने प्रयास भएको रहेछ । यहि ढुङ्गा हेटौंडामा भएको भए के के चित्र कोर्न लगाउँथे होलान् । कठै, हामी पोखराबासी त्यही ताल र माछापूच्छ्रे बेचेर पनि पर्यटन उद्योगलाई धानी रहेका छौं।

हाम्रा डाँडाथोकका दाजुभाईको पैतृक जग्गा गारतरो।तल कसेरीमा खेत पनि रोप्ने गरिने रहेछ पहिले । धानको बिउ राख्ने, फापर छर्ने, घाँस काट्ने, टटलो काट्ने धेरै प्रयोजन थियो यस्को । हिउँदमा छाडा हुन्थ्यो गारतरो र हामी बस्तु भाउ त्यहिं छोड्ने गर्थ्यौं। भोटेहरूका घोडा पनि चर्न आइपुग्थे। अहिले सिंचाईको लागि सेतीको पानी फिल्ट्रेसन गर्ने तलाउ बनेको छ त्यहाँ। नीलो पानीको सुन्दर मिनी ताल जस्तो। मनोहर,नौका बिहारको ब्यबस्था गर्न सके पर्यटक भूल्ने ठाउँ हुन्थ्यो। गारतरो तीरको शुक्लाको तट प्रदुषण बिहीन,ठूल्ठूला ढुङ्गा यथाबत,प्राकृतिक बहाब पानीको सुनिरहुँ झैं लाग्ने सुसाई। अधिग्रहण भयो त्यो जग्गा। तर हाम्रा दाजुभाइले ,४३बर्ष जति भयो मुआब्जा पाएका छैनन। राज्यबाट पिडित भएका छन् । सर्वोच्च अदालतले निर्णय गर्दा पनि रोकिएको छ ।

पोखरा महानगरपालिकाको कार्यालय परिसर सानो छ। जग्गा अपुग छ ।नगरपालिकाको बहुआयामिक प्रयोजनका लागि विशाल जग्गा आबश्यक पर्छ। त्यसको लागि गारतरो साह्रै उपयुक्त छ । जग्गा धनीलाई समयोचित मुआब्जा उपलब्ध गराएर सो जग्गा महानगरपालिकाले आफ्नो स्वामित्वमा लिनु राम्रो हुन्छ । यस तर्फ मेयर धनराज आचार्यको गम्भिर ध्यानाकर्षण हुन जरुरी छ । नगर बोर्डले स्थलगत निरीक्षण गर्न अनुरोध छ। गाईघाटमा पक्किपुल हाल्ने हो भने पूरुन्चौर ढिकुर पोखरी देखि गगनगौंडासम्म, पुम्दी देखि मौजासम्म सबैको केन्द्र पर्छ यो ठाउँ। चारैतिर बाटोले जोडिएको, पोखरा बाग्लुङ राजमार्गको किनारामा पर्ने यो हरेक हिसाबले उपयुक्त मानिन्छ। पोखरा पोलिटेक्निकल इन्स्टिच्यूट, मिनी एअर पोर्ट ,मिनी चिडीयाखाना, स्टेडियम, हरियाली पार्क, नौका बिहार,चित्र कोर्न मिल्ने ठूलो ढुङ्गा,पुरा हिमाल दृश्याबलोकन गर्न सकिने स्पट सबै बनाउन सकिने स्थान छ यो । यहाँ बन्ने संरचनाको लागि पानीको ब्यबस्था सेतीबाटै गर्न सकिन्छ । किसानले उपभोग गर्न्न नसक्ने ,सरकारले उपयोग गर्न नमिल्ने कारणले जग्गामा बनमासा, काँडा, कुरो ,भूलेत्रो र केही सिसौका बृक्षहरू छन । हामीले खाने गरेको बयँर मासिएछ । १३ ओटा गाँज मात्र तलाउको दक्षिणी किनारामा भेटेँ। खिन्न लाग्यो बयँर लोप हुन लागेकोमा।

सुन्दर फिडको आडबाट एउटा डहर थियो ,त्यो चल्तिमा रहेन्छ जस्तो लाग्यो । माथि ब्यबस्थित शान्ति घाट, तल चन्द्रकान्त आचार्य दाईहरूको सक्रियतामा बनेको क्रियापूत्री भवन र मन्दिर रहेछ।बाटो वरिपरी सफा बाताबरण कायम भएको रहेछ । गारतरो संघर्ष समिती र लाहुरे ट्रेनिङ्ग सेन्टर मिलेर गारतरो सफा राख्नु भएको रहेछ। मैले कतै पनि प्लास्टिक र फुटेका बोतलहरु भेटिन। गारतरो क्षेत्रको संरक्षणमा नियमित निगरानी भै रहोस, शुभकामना।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।