गीतकार आर्जु विष्ट सम्मानित,प्रतिष्ठानको अध्यक्षमा अनुराग


     एभरेस्ट आवाज    
     कार्तिक १५ गते २०८२ मा प्रकाशित




शिशिर उजाड
पोखरा

गीतकार एवं संचारकर्मि आर्जु विष्ट ‘सल्यानी’ पोखरामा सम्मानित भएका छन् ।

गीतकार प्रतिष्ठान, नेपालले आफ्नो तेस्रो अधिवेशन तथा पाँचौँ साधारण सभाको अवसर पारेर शनिबार यस वर्षको गीतकार सम्मान प्रदान गरेको हो । कार्यक्रममा साहित्यकार सरुभक्त, विम्वकवि रमेश श्रेष्ठ, प्रतिष्ठानका अध्यक्ष शितल गिरी र कवि सरस्वती श्रेष्ठले नगद ५ हजार ५ सय ५५ रुपियाँ, दोसल्ला र सम्मानपत्रसहित सम्मान गरे । सल्यानको खलङ्गामा जन्मेका गीतकार विष्ट २०५८ सालदेखि पोखरामा रही पत्रकारिता तथा साहित्य लेखनमा क्रियाशील छन् । ‘सागर’ र ‘झ्याम्म झ्याम्म’ गरी २ गीति एल्बम समेत बजारमा ल्याइसकेका विष्टका जित मात्रै कहाँ हो र , झ्याम्म झ्याम्म, ठोकिँदा ठोकाइमा, लौ आयो भलिबल, आहा रारा गोल्डकपमा लगायतका गीत चर्चित छन् । उनका करिब ३ सय बढी गीत रेकर्ड भएका छन् ।

सम्मान पछिको कार्यक्रममा बोल्दै साहित्यकार सरुभक्त श्रेष्ठले सुन्दर शब्द मार्फत गीत रचना गर्ने गीतकारहरु सधै ओझेलमा पर्ने गरेको गुनासो गरे । उनले सिर्जनाको सधै सम्मान हुनुपर्नेमा जोड दिदैं, त्यस तर्फ हरेक सर्जक चनाखो हुनुपर्ने बताए । विम्व कवि रमेश श्रेष्ठले ग्रामिण परिवेशका शब्दलाई टपक्क टिपेर लेख्न सक्ने क्षमता सल्यानीसँग रहेको भन्दै प्रशंसा गरे । सम्मानित सष्ट्रा आर्जु विष्ट सल्यानीले गीत लेखनका समयमा भोगेका अनुभव सुनाउँदै, गीत लेखनको क्षेत्रमा यो सम्मानले थप उर्जा मिलेको बताए । कार्यक्रममा नेपाल लेखक संघ गण्डकीका अध्यक्ष ईश्वरमणी अधिकारी, कवि सरस्वती श्रेष्ठ ‘सरू’, प्रतिष्ठानका संस्थापक अध्यक्ष हरिहर खनिया लगायतले सम्मानित सष्ट्राका बारेमा बोलेका थिए । सम्मानित सष्ट्राको परिचय प्रतिभा छनोट समितिका संयोजक एवं प्रतिष्ठानका संस्थापक अध्यक्ष हरिहर खनियाले गराएका थिए ।

प्रतिष्ठानका अध्यक्ष शितल गिरीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव रुपिन्द्र प्रभावीले गरेका थिए ।गीत लेखनका क्षेत्रमा योगदान पुर्‍याएका नेपाली गीतकारलाई हरेक २ वर्षमा प्रदान गरिने सम्मान यसअगि प्रकट पगेनी ‘शिव’, शीतल कादम्बिनी र सरस्वती श्रेष्ठ ‘सरू’ ले प्राप्त गरिसकेका छन् ।

यसैबिच प्रतिष्ठानको सम्पन्न अधिवेशनले अनुराग अधिकारीको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । प्रतिष्ठानको उपाध्यक्षमा लाल कार्की अञ्जान,सचिवमा रुपिन्द्र प्रभावि, सहसचिवमा बिर्सना बस्नेत,कोषाध्यक्षमा आदर्श पोखरेल र सदस्यहरुमा रेशम रचक,राजाराम पौडेल,सुरज उपाध्याय,जमुना वराल,गणेश राज सदाशंकर रहेका छन् । १ सदस्य पछि समितिले मनोनयन गर्ने बताईएको छ।समितिको पदावधि २ वर्षको हुनेछ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।