सशस्त्र प्रहरी बल तालिम शिक्षालय, लामापाटन पोखरामा स.प्र.स.नि. आधारभूत तालिम दीक्षान्त समारोह सम्पन्न


     एभरेस्ट आवाज    
     कार्तिक २० गते २०८२ मा प्रकाशित




पोखरा । सशस्त्र प्रहरी बल, नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय, लामापाटन पोखरामा सि.सं. १७ (ख) सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोह बिहिबार सम्पन्न भयो। “ज्ञान, कला र कौशल” भन्ने आदर्श वाक्यसहित सशस्त्र प्रहरी बलको दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले सञ्चालन गरिएको यो तालिमको दीक्षान्त समारोहमा तालिम सम्पन्न गरेका ४५ प्रशिक्षार्थी सहभागिथिए ।
प्रमुख अतिथि सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक तथा मानवश्रोत विभागका विभाग प्रमुख बंशीराज दाहालले तालिम पूरा गरी दीक्षित भएका प्रशिक्षार्थीहरुलाई दर्ज्यानी चिन्ह शुशोभन गर्दै शुभकामना व्यक्त गर्नुभयो। उहाँले राष्ट्र र जनताको सुरक्षामा सशस्त्र प्रहरी बलको योगदान गौरवपूर्ण रहेको उल्लेख गर्दै नयाँ अधिकृतहरुलाई अनुशासन, इमानदारी, व्यावसायिक दक्षता र निष्ठाका साथ आफ्नो कर्तव्य पालन गर्न प्रेरित गर्नुभयो।
प्रशिक्षार्थीहरुले प्रमुख अतिथिको सम्मानमा ढिलो चाल र छिटो चालमा कवाज प्रस्तुत गर्दै ईज्जत अर्पण गरेका थिए। सोही अवसरमा निशान भगवती सलामी, राष्ट्रिय सलामी तथा सपथ ग्रहण कार्यक्रम पनि सम्पन्न गरिएको थियो।
दीक्षान्त समारोहमा समादेशक सशस्त्र प्रबरी बरिष्ठ प्रहरी उपरीक्षक उद्धब न्यौपानेले तालिम प्रतिवेदन प्रस्तुत गर्दै तालिमका उपलब्धि र अनुशासनबारे जानकारी दिनुभयो। करिब ४७ हप्तासम्म सञ्चालन गरिएको यो तालिमलाई तीन चरणमा विभाजन गरी सञ्चालन गरिएको थियो। पहिलो चरणमा व्यक्तिगत बन्दोबस्ती, कवाज, शारीरिक तालीम, नक्सा अध्ययन, हतियार प्रयोग, फिल्ड क्राफ्ट, ब्याटल क्राफ्ट, फायरिङ्ग, प्राथमिक उपचार र परम्परागत युद्धकला सम्बन्धी ज्ञान प्रदान गरिएको प्रमुख प्रशिक्षक स.प्र.उ. अरुणकुमार शर्माले बताउनु भयो । दोस्रो चरणमा कन्भेन्सनल ट्याक्टिक्स, सशस्त्र संघर्ष नियन्त्रण, जंगल वारफेयर र साहसिक तालीम सञ्चालन गरिएको थियो भने तेस्रो चरणमा हुल तथा दंगा व्यवस्थापन, महत्वपूर्ण प्रतिष्ठान र विशिष्ट व्यक्तिहरुको सुरक्षा, सीमा सुरक्षा व्यवस्थापन, विपद् व्यवस्थापन, सशस्त्र प्रहरी बलका ऐन नियम, प्रारम्भिक अपराध अनुसन्धान, ड्राइभिङ्ग, स्विमिङ्ग, फील्ड आधारित अभ्यास र भ्रमणजस्ता विषयमा व्यावहारिक प्रशिक्षण दिइएको स.प्र.ना.उ. टिकाराम गौत्तमले जानकारी दिनु भयो।
तालिम अवधिभर प्रशिक्षार्थीहरुले स्थानीय क्षेत्रमा बाहिरी अभ्यास, हाइब्रिड एक्सरसाइज लगायतका कार्यक्रममा सहभागिता जनाएको स.प्र.नि. भिमबहादुर क्षेत्रीले बताउनु भयो । दीक्षान्त समारोहका अवसरमा प्रशिक्षार्थीहरुले कवाज प्रदर्शन, खुकुरी ड्रिल तथा ब्याण्ड टोलीको आकर्षक प्रस्तुति प्रस्तुत गरेका थिए ।
कार्यक्रममामप्रमुख अतिथि दाहालले उत्कृष्ट प्रदर्शन गर्ने प्रशिक्षार्थीहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो। उहाँले सबै दीक्षित प्रशिक्षार्थीहरुलाई संगठनको गौरव र अनुशासनलाई पहिलो प्राथमिकतामा राखी राष्ट्रसेवामा समर्पित रहन आग्रह गर्नुभयो।
सशस्त्र प्रहरी बल, नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन, पोखराले वर्षौंदेखि राष्ट्रको सुरक्षाका लागि दक्ष जनशक्ति उत्पादनमा निरन्तर योगदान दिँदै आएको छ। यस वर्षको सि.सं. १७ (ख) स.प्र.स.नि. आधारभूत तालिम दीक्षान्त समारोहले पुनः संगठनको गौरव, अनुशासन र प्रतिबद्धताको उदाहरण प्रस्तुत गरेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।